- असार ०६, २०८०
खजुरा (बाँके)। नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाद्वारा नेपालगञ्जमा आयोजित दुईदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज यहाँ उद्घाटन गर्दै उपसभापति गुरुङले कार्यकर्तामा हार्दिकता अभाव हुँदा आमनिर्वाचनमा त्यसको प्रभाव पर्ने गरेको उल्लेख गरे।
उनले यस्ता प्रशिक्षणले तल्लो तहमा रहेका कार्यकर्तामा हार्दिकता जोड्ने धारणा राखे।
‘कांग्रेसभित्र हार्दिकता जोड्दै सहकार्य र समन्वय आवश्यक छ’, उपसभापति गुरुङले भने, ‘त्यसको अभाव हुँदा निर्वाचनमा हामीले तीतो अनुभव बटुल्दै आएका छौँ। यस्ता प्रशिक्षणले हार्दिकतालाई जोड्ने काम गर्छ।’ कांग्रेसको सिद्धान्तप्रति प्रतिबद्ध गराउन प्रशिक्षण अत्यन्तै जरुरी रहेको उनको भनाइ छ।
‘कांग्रेसका तल्लो तहमा पार्टीको सिद्धान्तबारे बहस गर्नसक्ने क्षमता जगाउन तालिम, सीप विकासका लागि यस्ता प्रशिक्षण आवश्यक छ’, उनले भने, ‘जसले गर्दा पार्टीलाई बलियो र जनता केन्द्रित बनाउँछ।’
उपसापति गुरुङले आपसी समन्वय र सहकार्यमार्फत जनचाहनाअनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै सहकार्यको अभावमा गन्तव्यमा पुग्न नसकिने उल्लेख गरे।
‘राजनीतिको राजमार्गमा सबैलाई समेट्दै लैजानुपर्छ’, उनले भने, ‘समन्वय र सहकार्य हुन सकेन भने गन्तव्यमा पुग्न सकिँदैन। पार्टीभित्र र बाहिर पनि आवश्यकता अनुसार सहकार्य गर्दै जानु जरुरी छ।’
टिप्पणीहरू: