बिहिबार, १९ भदौ २०८२

दर्ज्यानी चिन्ह लगाएपछि नवनियुक्त आईजीपीले भने- सकेको राम्रो गर्छु, तर नराम्रो गर्ने छैन


काठमाडौँ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह लगाएका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह लगाएका हुन्।

साे समारोहमा बोल्दै गृहसचिव गोकर्णमणि दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, जेष्ठतालगायतका आधारमा प्रहरीको सर्वोच्च पदमा नियुक्त गरी महत्वपूर्ण जिम्मेवारी दिएको बताए।

मुलुकमा शान्ति, सुव्यवस्था, सुशाभन कायम गर्न अपराध नियन्त्रण गर्न र सामाजिक न्याय कायम गर्न प्रहरीको अहम भूमिका रहेको सचिव दुवाडीको भनाई छ।

‘आम नागरिकले सुरक्षित छु भन्ने महशुष गराउनु नै हामी सबैको कर्तव्य हो। आम नागरिकको नजिक रहेर उनीहरुको सुखदुखको साथी बन्नु सक्नु प्रहरीको प्रभावकारीताको मापन पनि हो। नेपाल प्रहरीको साख अझ बढी राम्रो बनाउन सफल हुनुहोस्’, उनले भने, ‘सकल दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च बनाई प्रहरी संगठनको उद्देश्य पुरा गर्न सफल हुनेमा आशावादी छौं।’

उनले समाजमा अपराधका गतिविधी चुनौती बन्दै गएको बताए। ‘अपराधका नयाँ नयाँ श्रखलाहरु बढिरहेका छन्। सबै अपराधका गतिविधी नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्न जुरुरी छ’, उनले भने।

त्यसैगरी नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले समारोहमा बोल्दै आफूले सकेको राम्रो गर्ने बताए।

‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन’, उनले भने, ‘सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा रहेको छ।’

अपराध अनुसन्धानमा गहिरो चुनौती रहेको भन्दै खापुङले कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए।

तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उनले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको जानकारी दिए।

समारोहमा सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा मन्त्रालय र प्रहरीका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ