बिहिबार, १९ भदौ २०८२

राति अबेर कुकरमा सिट्ठी लगाउन र फोनमा ठूलो स्वरमा बाेल्न नपाइने, प्रहरीले ताेक्याे ३ लाखसम्म जरिवाना


काठमाडौँ। नेपाल प्रहरीले छिमेकीलाई बाधा पुग्नेगरी अनावश्यक आवाज उत्पन्न नगर्न अनुराेध गरेकाे छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त तथा अवरोधमुक्त छिमेकी अभियानको थालनी गर्दै यस्ताे अनुराेध गरेकाे हाे। 

विभिन्न मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनि प्रदुषण मानव स्वास्थ्यका लागि हानिकारक भएकोले यस्ताे अभियान थालनी गर्न लागेकाे प्रहरीले जनाएकाे छ।

ध्वनी प्रदुषणका कारण खास गरी गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालवालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भएकोले अनावश्यक आवाज नगर्न प्रहरीले अनुराेध गरेकाे छ। 

फोन कल गर्दा आवाज कम गर्न वा हेडफोन प्रयोग गर्न, म्यासेजमै संवाद गर्न प्रहरीले सुझाव दिएकाे छ। साथै अबेरसम्म ठुलो स्वरले गफगाफ नगर्ने भनेकाे छ।

यसैगरी राति अबेर वा बिहान सर्बेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन, घरमा संगीत अभ्यास गर्दा ध्वनी नियन्त्रण उपकरण प्रयोग गर्न, राति अवेर शौचालय फ्लश गर्दा ध्वनी कम गर्ने उपाय अपनाउन आग्रह गरेकाे छ। 

यस्तै बेरसम्म म्युजिक बजाएर नाचगान नगर्ने, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर नसुत्न  प्रहरीकाे सुझाव छ।

माथि उल्लेखित कार्यहरूकाे पालना नगरे ३ लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने प्रहरीले जनाएकाे छ। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको अनुरोध

विभिन्न मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनी प्रदुषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनी प्रदुषणका कारण खास गरी गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालवालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका साथै सर्वसाधारण जनताको सामाजिक, आर्थिक कृयाकलाप तथा नैतिक मूल्य मान्यता समेत प्रभावित हुने एवं सामाजिक सम्बन्धहरुमा समेत प्रतिकूल असर पर्ने जाने भएको हुदाँ तपाईको घर, परिवार र छिमेकीहरूको हितका लागि निम्न कार्यहरू पालना गर्नुहुन अनुरोध गरिएको छ। शान्त समाज, सभ्य समाजको पहिचान पनि हो। ध्वनी, धुवाँ र फोहर प्रदुषण मुक्त छिमेकी अभियानको थालनी गरौं।

१. राति अनावश्यक आवाज नगरौं।
> फोन कल गर्दा आवाज कम गरौं वा हेडफोन प्रयोग गरौं, म्यासेजमै संवाद गरौं।
> अबेरसम्म ठुलो स्वरले गफगाफ नगरौं।
> पार्टी वा जमघट गर्दा छिमेकीलाई असजिलो हुने गरी नगरौं।
> अबेरसम्म म्युजिक बजाएर नाचगान नगरौं।
➤ टेलिभिजन वा म्युजिक सिस्टम खोलेर सुत्ने कार्य नगरौं।
> भान्सामा भाडाकुडाँको ठुलो आवाज उत्पन्न नगरौं।
> राती गेट ढकढकाउने वा बेल बजाउने कार्य नगरौं, आवश्यकता अनुसार फोनको प्रयोग गरेर होका खोल्न लगाऔं।

२. बिहानको शान्ति कायम राखौं।
➤ बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने खकाने नगरौं।
➤ गेट खोल्दा र अन्य क्रियाकलाप गर्दा आवाज कम गरौं।
> मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकालीं, ठूलो आवाज आएमा छिमेक भन्दा पर लगी चालु गरौं।

३. शौचालय र अन्य घरेलु क्रियाकलापमा सचेत बनौं ।
➤ राति अवेर शौचालय Flush गर्दा ध्वनी कम गर्ने उपाय अपनाऔं।
> राति अवेर वा बिहान सर्वेरै प्रेसर कुकरमा सिड्डी लगाउने कार्य नगरौं ।
➤ घरमा संगीत अभ्यास गर्दा ध्वनी नियन्त्रण उपकरण प्रयोग गरौं।
> सडकमा अनावश्यक हल्ला नगरौं।

४. सामाजिक र धार्मिक क्रियाकलापमा सचेत बनौं ।
> धार्मिक वा संस्कृतिक कार्यक्रममा ध्वनी नियन्त्रण गरौं।
> मन्दिर, गुम्बा, मस्जिदमा ध्वनि नियन्त्रण गर्दै पूजा/प्रार्थना गरौं।

५. अन्य
➤ चुरोट वा फोहर जलाएर छिमेकमा धुवाँ र वातावरण प्रदूषण नगरौं।
> घर बाहिर फोहर नफालौं, निश्चित फोहर फाल्ने स्थानमा मात्र फालौं।
> कुहिने र नकुहिने फोहरको समुचित व्यवस्थापन गरौं।
➤ सडकमा जथाभावी फोहर गरी टोल छिमेकमा दुर्गन्धित नपारौं ।
> छिमेकीसँग मिलेर नियमित सफाइ अभियान सञ्चालन गरौं।
> आफुले पालेको जनावरहरु (कुकुर, कुखुरा) आदिबाट छिमेकी र वातावरणलाई अशान्ति नगरौं।
> प्रेशर हर्न वा मोडीफाई गरी ठूलो आवाज निकालेर सवारी साधन नचलाऔं।

कानूनी व्यवस्था - ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले त्यस्तो कार्यमा बन्देज लगाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्नसक्छ।
उपरोक्त कुनै पनि गतिविधि गरी टोल छिमेकमा डिस्टर्व गरेमा निम्न फोन नम्बरहरुमा सम्पर्क गरौं।
प्रहरी कन्ट्रोल : १००
ट्राफिक कन्ट्रोल : १०३
का.उ.प्र.का. रानीपोखरी: ९८५१२८३०२६. ९८५१२८३०२७
यो अभियानमा सबै नागरिक सक्रिय रुपमा सहभागी बनौँ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ