- भदौ ०२, २०८१
म्याड्रिड। गत अगस्त महिनामा स्पेन र पोर्चुगलमा फैलिएको भीषण डढेलोले ती क्षेत्रहरूमा ठूलो क्षति पुर्याएको छ। एक नयाँ वैज्ञानिक अध्ययनअनुसार, यस्ता परिस्थिति जलवायु परिवर्तनका कारण उत्पन्न भएका हुन्।
अगस्त महिनाभर इबेरियन प्रायद्वीपमा तापक्रम असामान्य रूपले बढेको थियो। धेरै स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम मापन गरिएको थियो, जसले गर्दा विशेषगरी उत्तर पोर्चुगल र पश्चिम तथा उत्तरपश्चिमी स्पेनमा डढेलो फैलन थालेको थियो।
उक्त डढेलोबाट स्पेन र पोर्चुगल दुबै देशमा ४–४ जनाको मृत्यु, हजारौँ नागरिकको सुरक्षित स्थानतर्फ सार्ने व्यवस्था र विशाल वन तथा कृषियोग्य भूमि नष्ट भएको छ।
युरोपेली वन डढेलो जानकारी प्रणालीका अनुसार, स्पेनमा यस वर्ष तीन लाख ८० हजार हेक्टरभन्दा बढी जमिन डढेलोबाट प्रभावित भएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च र वर्षे औसतको झण्डै पाँच गुणा बढी हो।
त्यस्तै, पोर्चुगलमा पनि दुई लाख ८० हजार हेक्टरभन्दा बढी जमिन डढेलोबाट नष्ट भएको जनाइएको छ, जुन सामान्य वार्षिक औसतको तीन गुणा बढी हो।
विश्व मौसम सम्बन्ध पहिचान समूहद्वारा गरिएको अनुसन्धानअनुसार, मानवजन्य तापवृद्धिका कारण यस्ता मौसमीय अवस्था ४० गुणा बढी सम्भाव्य भएका हुन्। साथै, यस्ता डढेलोको तीव्रता पनि ३० प्रतिशतले बढी भएको पाइएको छ।
इम्पेरियल कलेज लन्डनका वैज्ञानिक कीपिङका अनुसार, ‘यदि तापवृद्धिमा मानवको प्रभाव नहुने हो भने, यति गम्भीर डढेलो ल्याउने मौसम करिब ५ सय वर्षमा एकपटक मात्र देखिने सम्भावना हुन्थ्यो। तर अहिले यस्तो अवस्था प्रत्येक १५ वर्षमा एकपटक देखिन थालेको छ।’
गर्मीले वनस्पति अत्यधिक सुक्ने भएकाले डढेलो फैलन सजिलो हुने जनाइएको छ। स्पेनको मौसम विभागका अनुसार, यो अगस्त महिनामा भएको १६ दिन लामो गर्मी लहर अहिलेसम्मकै सबैभन्दा कडा भएको थियो। अघिल्ला वर्षहरूको तुलनामा यसपटकको गर्मी लहर ४.६ डिग्री सेल्सियस बढी मापन गरिएको हो।
स्पेनको कार्लोस तेस्रो स्वास्थ्य संस्थानले दिएको अनुमानअनुसार, सो गर्मी लहरका कारण करिब एक हजार एक सय जनाको ज्यान गएको छ।
सन् १९७५ यता स्पेनमा ७७ वटा गर्मी लहरहरू दर्ता भएका छन्। यस किसिमको डढेलोको जोखिम अझ बढ्नुमा गाउँवस्तीको खालीपन र परम्परागत खेती तथा पशुपालनको गिरावट समेत कारण भएको विज्ञले उल्लेख गरेका छन्।
रेडक्रस–रेडक्रेसन्ट जलवायु केन्द्रकी सल्लाहकार माया वालबर्गका अनुसार, ‘पहिले मानिसहरूले बसोबास गर्ने, खेतीपाती गर्ने र गाईबस्तु चराउने ठाउँहरू अहिले खाली हुन थालेका छन्। यस्तो अवस्था आउँदा प्राकृतिक वनस्पति नियन्त्रण कम हुन्छ र भू–भाग डढेलोका लागि अझ जोखिमपूर्ण बन्न पुग्दछ।’
टिप्पणीहरू: