शनिबार, २४ जेठ २०८२

तपाईंलाई थाहा छ, एकजना नेपालीले ४९ लाख स्कुललाई मात्रै बुझाउनुपर्छ


तपाईंहरुले कहिल्यै हिसाब गर्नुभएको छ- आफ्ना सन्तानलाई सामान्य निजी विद्यालयमा पढाउँदा कति खर्च हुन्छ ? तपाईंहरुलाई अचम्म लाग्न सक्छ, निजी विद्यालय पढ्ने एक जना विद्यार्थीले स्नातक तह उत्तीर्ण गर्दा २५ लाख रुपैयाँ खर्च हुन्छ । दुई सन्तान जन्माउने एउटा दम्पत्तिले छोराछोरीलाई स्नातक उत्तीर्ण गराउँदा स्कुल, कलेजमा मात्रै ५० लाख बुझाउनुपर्छ ।कसरी हुन्छ ५० लाख खर्च ? कतिपयलाई हावा गफजस्तो पनि लाग्न सक्छ । आउनुहाेस् गहन हिसाब गरौं ।

सामान्य त अहिले एउटा बच्चालाई प्रारम्भमा मन्टेश्वरीमा पढाउने चलन हुन्छ । मन्टेश्वरीहरु धेरै खालका हुन्छन् । असाध्यै सस्तो दरमा बालबालिका पढाउनेले प्रतिमहिना १० हजारसम्म शुल्क लिन्छन् । महंगाको कुरा नगरौँ, २५ हजार लिने पनि छन् ।

१० हजारकै कुरा गर्ने हो भने पनि एउटा बच्चा कम्तिमा ३ वर्ष मन्टेश्वरी पढ्दा प्रतिवर्ष एक लाख २० हजारका दरले पनि तीन वर्षमा ३ लाख ६० हजार फि मात्रै बुझाउनुपर्छ । भर्ना फि, सेक्युरिटीलगायत प्रारम्भै ५० हजार बुझाउनुपर्छ । स्पोर्ट्स, म्युजिक, स्वीमिङ, परीक्षा, समाजसेवालगायत तीन वर्षमा कम्तिमा थप १ लाख ४० हजार लाग्छ । यसको अर्थ एउटा बालिका वा बालक एक कक्षामा पुग्नु अगाडि नै पाँच लाख खर्च भइसकेको हुन्छ ।

जब एक कक्षामा कुनै नयाँ स्कुलमा भर्ना हुन पुग्छ । महिनावारी शुल्क कम्तिमा ४ हजार राखेर हेरौं, एकदेखि ३ कक्षासम्म मासिक ४ हजार शुल्क राख्ने हो भने पनि तीन वर्षमा एक लाख ४४ हजार मासिक शुल्क मात्रै बुझाउनुपर्छ । (पाठशाला, ग्यालेक्सीजस्ता महंगा स्कुलको कुरा गरेको छैन, सामान्य स्कुलले लिने शुल्क हो ।)

४ कक्षादेखि ६ कक्षासम्मको मासिक शुल्क सामान्य त ७ हजार राखौं, मासिक शुल्क मात्रै तीन वर्षको दुई लाख ५२ हजार बुझाउनुपर्छ । ७ देखि १० कक्षासम्मको शुल्क ८ हजार मात्रै राख्दा पनि तीन वर्षमा दुई लाख ८८ हजार रुपैयाँ पर्न आउँछ ।

कुनै पनि निजी विद्यालयले हरेक वर्ष भर्ना फि भनेर कम्तिमा १५ हजार लिन्छन् । यो भनेको १० वर्षको एक लाख ५० हजार हो । योबाहेक ट्युसन फि, स्पोर्ट्स, म्युजिक भनेर असुल उपर हरेक स्कुलले गर्छन् । कापी, कलम, किताब, पोशाक सबै खर्च जोड्ने हो भने १० वर्षमा कम्तिमा थप तीन लाख खर्च हुन्छ ।

१० कक्षा पास गरेपछि प्लस टु पढ्न जाँदा सामान्य स्कुलले पनि कम्तिमा ११-१२ पढाएबापत एक लाख ५० हजार शुल्क लिन्छन् । विज्ञान विषय पढ्नेहरुले अझ बढी तिर्नुपर्छ । स्नातकको कुरा गर्ने हो भने कुनै पनि निजी कलेजले बीबीए, कानुन, मानविकी संकाय वा अन्य कुनै पनि विषय पढाएको चार वर्षको कम्तिमा ७ लाख लिन्छन् । डाक्टर, इन्जिनियर वा अन्य प्राविधिक विषय पढ्नेको कुरा नगरौं । अब सबै रकम जोड्दा २४ लाख ९४ हजार हुन्छ । यो एकजनाको लागि हुने खर्च हो । यदि कसैको दुई सन्तान छ भने ४९ लाख ८८ हजार हुन्छ ।

माथि उल्लेख गरिएको कुनै खर्च हुने रकम तपाईं आफैं चेक गर्न सक्नुहुन्छ । चलनचल्तीभन्दा बढी लेखिएको विवरण पाउनुभयो भने आपत्ति जनाउन पाउनुहुन्छ ।

सरकारी विद्यालयलाई उठ्नै नदिने नीति

सरकारी विद्यालयका शिक्षकहरु २२ दिनदेखि आन्दोलनमा छन् तर, सरकारले आजसम्म शिक्षकको माग सम्बोधन गरेको छैन । सर्वाेच्च अदालतले तीन दिन भित्र शिक्षकलाई कार्यक्षेत्रमा फर्किन आदेश दिएकाले सरकारलाई आ‌ंशिक राहत मिलेकाे छ । यद्यपी अदालतले सरकारलाई पनि शिक्षककाे मागप्रति संवेदनशील हुन भनेकाे छ । अदालतका थुप्रै आदेश पालना नगरेकाे सरकारले यसपाली पनि त्यस्तै गर्न सक्छ ।

सामुदायिक विद्यालयका शिक्षकले पटक पटक आन्दाेलन गर्न वाध्य हुनुकाे कारण हाे सरकार आत्मैदेखि सरकारी विद्यालयको स्तरोन्नति चाहँदैन । जहिले  परिक्षाफलकाे विषयलाई लिएर सामुदायिक विद्यालयकाे आलाेचना हुने गर्छ । सामुदायिक विद्यालकाे दु:ख भनिसाध्यै छैन । जुन स्कुल राम्राे छ त्यहाँ थेगिनसक्नु विद्यार्थी हुन्छन् तर, सरकारले दरबन्दी अनुसारकाे शिक्षक समयमा पठाउदैन । ति स्कुलले चाहेर पनि राम्राे गर्न सामर्थ्यले भ्याउदैन । कमजाेरकाे हालत झन खराब हुने भैहाल्याे । 

सामुदायिक विद्यालयका समस्याबारे सरकारमा बस्नेहरु जानकाकार नभएका हाेइनन् । समस्या के हाे र समाधान कसरी गर्न सकिन्छ भन्नेमा पनि सचेत छन् तर, समस्या समाधानका लागि पहल गर्दैनन् । किनकी जति पनि निजी लगानीमा स्कुल एवं कलेज खुलेका छन्, तीमध्ये धेरैमा नेपाली कांग्रेस र नेकपा एमाले पार्टीमा सम्बद्धहरुको लगानी छ । केही निजी स्कुलमा माओवादी नेताहरुको पनि लगानी नभएकाे हाेइन । यदि सरकारी विद्यालय राम्रो भयो वा निजीमा पढ्ने कुनै विद्यार्थी सरकारीमा गयो भने एउटा निजी विद्यालयको २४ लाख ९४ हजार गुम्नु हो । तसर्थ निजी विद्यालय सञ्चालक यो रकम गुमाउन चाहँदैनन् र सरकारमा बस्नेहरु उनीहरुकाे आम्दानी सुरक्षित गर्नमा भुमिका निर्वाह गर्छन् ।

स्कुलमा तिर्ने रकमको हिसाब बोर्डिङ स्कुलमा छोराछोरी पढाउने अभिभावकले मात्रै नगरेका हुन्, स्कुल र कलेज सञ्चालकले उहिल्यै गरिसकेका छन् । त्यसकारण पनि सरकारी विद्यालय कहिल्यै नसुध्रियोस् भनेर कामना गरेर बसेका छन्, निजी विद्यालय सञ्चालक ।

अर्को कुरा स्कुल, कलेज आफैंमा नाफाको व्यापार हो । मान्छेले दाल उधारो किन्न सक्छ, तरकारी उधारो लिन सक्छ । चामल, दुधलगायत अन्य धेरै चिज उधारो किन्न सक्छ, जग्गाजमिन ऋणपान गरेर जोड्न सक्छ तर, स्कुलको फि समयमै तिर्छ । किनकी उसले समयमा शुल्क बुझाएन भने उसको सन्तानले परीक्षा दिन पाउँदैन ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री हुँदा एउटा नारा लेखे, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । हरेक मन्त्री, सांसदहरुले अहिले भाषणको क्रममा यही कुरा भट्याउँछन् । अरुका कुरा छाडौं, अस्ति बर्खास्तीमा परेका राज्यमन्त्री कान्छारामसमेत झन अस्तिसम्म भट्याउँदै थिए, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ वाक्य अहिले सत्ताधारी दलका नेताहरुका लागि माघ महिनाको स्वस्थानीजस्तै भएको छ, भन्नै पर्ने ।

यस्तो अवस्थामा कसरी सम्भव छ, ‘सुखी नेपाली’ । जुन मुलुकमा एउटा नेपालीले जीवनभर गरेको कमाई स्कुलमै बुझाएर सक्छ । एउटा अधिकृतले मासिक बुझ्ने तलबकै कुरा गर्ने हो भने भत्तासहित जोड्दा ७० हजार बुझ्ला । जब दुई सन्तानका लागि स्कुल फि मात्रै ५० लाख बुझाउनुपर्छ भने ऊ कसरी हुन्छ समृद्ध र सुखी ? ७० हजार तलब खानेको १५ वर्षको कमाई भनेको १ करोड २६ लाख हो । त्योमध्ये दुई सन्तान छ भने स्कुलमै बुझाउनुपर्छ, ४९ लाख । अन्य खर्च छँदैछ । अनि कसरी हुन्छ समृद्ध र सुखी ?

समृद्धिकै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले सवालजवाफ गर्यो भने उनी उदाहरण दिन्छन्- धरहरा, सुरुङ मार्ग, पक्की पुल, कालोपत्रे सडक । ओली, प्रचण्ड र देउवा आर्थिक समृद्धिको कुरा गर्नमा खरो प्रतिस्पर्धामा उत्रने गरेका छन् । उनीहरुलाई अहिलेसम्म थाहा छैन- वास्तवमै मुलुकलाई समृद्ध बनाउने हो भने सबैभन्दा पहिला सरकारी विद्यालय र सरकारी अस्पताल व्यवस्थित हुनुपर्छ । राज्यकै लगानीमा राम्रा कलेजहरु खाेल्नुपर्छ ।

दुखका साथ भन्नुपर्छ, आजसम्म पनि चन्द्रशम्सेर, अमृतमान तुलाधार, शंकरदेव पन्त, रामराज पन्तलगायतका पहलमा खुलेका क्याम्पसले नेपालको इज्जत धानिरहेका छन् । देउवा, ओली र प्रचण्डले चाहेका भए त्रिचन्द्र, शंकरदेव, अमृत साइन्स, नेपाल कमर्शजस्तै दर्जनौँ कलेजहरु स्थापना हुन सक्थे । वीर अस्पतालजस्तै थुप्रै अस्पतालहरु खुल्ने थिए । अहिलेसम्म खुलेका छैनन् र अब पनि खुल्दैनन् । किनकी हाम्रा राजनीतिक दलका शीर्षदेखि तेस्रो पुस्तासम्मका नेताहरुलाई एउटा विद्यार्थीको होइन, एउटा विद्यार्थीसँग २४ लाख ९४ हजार असुल उपर गर्नेको औधी माया लाग्छ ।

 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ