आइतबार, ०९ कात्तिक २०८२

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित ३ जनाविरुद्ध सर्वोच्चमा रिट


फाइल तस्बिर

काठमाडौं । गत भदौ २३ र २४ गते भएको घटनाकाे जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

अधिवक्ता विपिन ढकालले आइतबार आयोगका पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन्।

अधिवक्ता ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट निवेदन दर्ता गरेका हुन्।

आयोगका पदाधिकारीहरूले घटनाका बारेमा पहिले नै धारणा सार्वजनिक गरिसकेकाले उनीहरूबाट पूर्वाग्रहीरहित रुपमा काम हुन नसक्ने अधिवक्ता ढकालकाे जिकिर छ। उनले अन्तरिम आदेशमार्फत आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउनुपर्ने माग गरेका छन्।

भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षति भएकाे थियाे। उक्त क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय न्यायिक आयोग गठन भएको थियो। आयोगले गत असोज ९ गतेदेखि कार्य प्रारम्भ गरिसकेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ