सोमबार, १५ मंसिर २०८२

बुबा र दाजुलाई मृत्युदण्डकाे माग गर्दै युवतीले गरिन् प्रेमीकाे शवसँग विवाह


भारतको महाराष्ट्र प्रदेशस्थित नान्देडमा २० वर्षीया युवतीले आफ्नै बुबा र दाजुलाई मृत्युदण्डकाे माग गर्दै हत्या गरिएका प्रेमीको शवसँग विवाह गरेकी छन्। 

भारतीय सञ्चारमाध्यमले उल्लेख गरे  अनुसार घटना नान्देडको इतवारा क्षेत्रमा घटेकाे हाे। जहाँ आँचल नामकी युवतीका बाबु र दाजुले फरक जातका युवासँग प्रेम गरेकाे भन्दै युवतीका आफन्तले युवकलाई गाेली हानेर मारेका थिए ।

आँचलले फरक जातका २२ वर्षीय सक्षम टेटे नामका युवकसँग प्रेम गरेकी थिइन् ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विवाह गर्न चाहन्थे, तर सक्षम फरक जातका भएकाले आँचलको परिवारले यो सम्बन्धलाई अस्वीकार गर्‍यो। परिवारले आँचललाई उनीबाट अलग हुन दबाब दिइरहेको थियो।

यसैबीच जब आँचलले उनीसँग विवाह गर्न लागेको जानकारी पाए तब उनका दाजुभाइ र बुबाले  टेटलाई भेटघाटका लागि  भन्दै बोलाएर पहिले कुटपिट गरे, त्यसपछि टाउकोमा गोली हाने र हत्या गरे । 

 सक्षम टेटेको अन्तिम संस्कार गर्ने प्रक्रिया चलिहरकाे बेला आँचल उनको घर पुगिन्। उनले सक्षमको शरीरमा हल्दी लगाइन्, अनि उनको हातमार्फत आफ्नो निधारमा सिन्दूर लगाइन् र प्रेमीको मृत शरीरसँग विवाह गरेको घोषणा गरिन्। त्यसपछि उनले आफ्नो बाँकी जीवन उनकै घरमा उनकी श्रीमतीका रूपमा बस्ने निर्णय गरिन्।

प्रेमीका हत्यारा बुबा र दाजुभाइलाई मृत्युदण्डको माग गर्दै उनले भनिन्, ‘उनको मृत्युमा पनि हाम्रो प्रेमले जित्यो र मेरा बुबा र दाजुभाइले हारे।’

उनले अगाडि भनिन्, ‘मैले यसकारण उनीसँग विवाह गरेँ, किनभने सक्षमको मृत्यु भए पनि उनको प्रेम जीवित छ।’

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ