- असार ०७, २०८०
काठमाडाैं । जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव पक्राउ परेका छन्।
तत्कालीन माओवादी केन्द्र नेता मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका हुन्।
उनीसहित ५ जनालाई मोरङ जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा आइतबार पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
मोरङ प्रहरीका अनुसार अन्सारीसहित महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरूण साह सोनार पक्राउ परेका छन्।
अन्सारी आगजनीमा संलग्न भइरहँदा उनी तत्कालिन माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीका स्वकीय सचिव थिए। मोदी मन्त्री हुँदा पनि उनी स्वकीय सचिवको जिम्मेवारीमा थिए। घटनामा उनको प्रत्यक्ष संलग्नता देखिएको भिडियोहरू सार्वजनिक भएका थिए।
अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडका क्रममा नेपाल प्रहरीको टोपी लगाएर उल्लास मनाएको भिडियो पनि बाहिरिएको थियो।
आइतबार पक्राउ परेका अन्सारीसहित पाँच जनाको विराटनगरमा अदालत, महानगर पालिकालगायतका भवनमा आगजनीमा पनि संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ।
टिप्पणीहरू: