मङ्गलबार, ०३ असार २०८२

रमेश लेखकलाई जोगाएको ‘भिजिट भिसा’ले कांग्रेस-एमालेलाई कहाँ पुर्‍याउला ?


भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले कुर्लिएर बोल्न थालेको तीन दिन भयाे। तीन दिन अघिसम्म मिडियाको बुम देख्नेबित्तिकै तर्किएर हिँडेका लेखक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र भिजिट भिसा प्रकरणका सन्दर्भमा ‘सञ्जिवनी बुटी’ बनिदिएपछि उर्दु शायरी घोक्न व्यस्त छन्। परिस्थिति बद्लिएपछि जुनसुकै ठाउँमा पनि विषयलाई प्रष्ट पार्न शायरीको जरुरत हुनसक्छ। कण्ठ गरेपछि टन्टै साफ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही महिनाअघि एउटा कार्यक्रममा भनेका थिए, ‘बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ।’ राजनीतिक वृत्तमा राम्रै हल्लीखल्ली मच्चियो उक्त सन्दर्भले।

पाँच दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारविरुद्ध कटिबद्ध भएको भन्दै बिचौलियाको पहुँच पुष्टि गर्न चुनौती दिए। त्यसपछि बिचौलियाको पहुँचबारे खास चर्चा भएन। ‘भिजिट भिसा’ प्रकरणमा व्यवहारले नै पुष्टि गर्‍यो। पुष्टि यस अर्थमा कि कांग्रेस महामन्त्री थापाले भनेजस्तो बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म मात्रै होइन, कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बेडरुमसम्म पनि छ ।

भिजिट भिसा प्रकरणमा माओवादीको क्रान्तिकारी शैली दुई हप्तामै तुहिनुको कारण कुनै राजनीतिक सौदाबाजी होइन। कसैलाई जोगाउन वा कसैलाई डुबाउन माओवादीले दुई बुँदे सहमति गरेर कांग्रेससँग कुम जोडेर उभिएको होइन। बिचौलियाले माओवादीलाई भिजिट भिसाको प्रसंग धेरै नउचाल्न सुझाव दिए। अनि दुई बुँदे नामको खेस्रामा हस्ताक्षर गरे।

कांग्रेस महामन्त्री थापाले भनेजस्तो बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म मात्रै होइन, कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बेडरुमसम्म पनि छ ।

आफ्ना लागि बिचौलिया कति कामयबी छन् प्रमुख दलका शीर्ष मात्रै होइन, तेस्रो तहका नेताहरुसमेत जानकार छन्। त्यसकारण अब गगन थापा वा विश्वप्रकाश शर्माहरुले बिचौलियाको विरुद्ध बोल्दैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भिजिट भिसाकै सन्दर्भमा केही दिन ल्याङल्याङ गर्छन्। उनीहरुको पनि गति त्यही नै हो, अन्तिममा चिसै पानीले नुहाउन धेरै दिन बाँकी छैन । मुख्य समस्या रास्वपा र राप्रपालाई अहिले बिचाैलियाले भाउ दिएका छैनन् ।

कुख्यात अपराधी चार्ल्स शोभराजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हात्ती छिराइदिने चुनौती उहिल्यै दिइसकेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल नेपालको यति खतरनाक र बद्नाम अड्डा हो। कुराकानी मिलुन्जेल सबथोक छिराउन मिल्छ, सुन, लागुऔषध, अवैध हतियार के के हो के के ? कुनै कारणले हिसाब नमिल्दा मात्रै केही मान्छे समातिएको नाटक मञ्चन हुने हो। तीर्थराज भट्टराई पछिल्लाे पटक भेटिएका एउटा पात्र मात्रै हुन् । तीर्थराज जस्तै सहसचिव, उपसचिव, अधिकृतहरु धेरै छन्, जाे सेटिङमा निर्वाध भिजिट भिसाकाे र्याकेट चलाउछन् ।

भिजिट भिसाको र्‍याकेटमा संलग्न भएवापत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनसम्म बयान लिएको सहसचिव तीर्थराज भट्टराई सामान्य पात्र हुन्, अख्तियारजस्तो सशक्त निकायले अहिलेसम्म उनको मोबाइलको लकसमेत खोल्न सकेको छैन। अलि दिनपछि भट्टराईलाई ज्वरो आउन सक्छ, रुघा लाग्न सक्छ वा मोबाइलबाट सबै डाटाहरु आफैं डिलेट हुन पनि सक्छ। एउटा औँलाको खेल न हो। उनी मुख्त हुन्छन् अभियाेगबाट । ठाउँ ठाउँ ठडिएका छन् 'श्रीमान'हरु घटनामा संलग्न नै नभएकाे फैशला लेख्नका लागि । हाम्राे प्रणालीहरुले नै तीर्थराज भट्टराईहरुलाई माेबाइलकाे लक बिर्सन छुट दिएकाे छ ।

सुशासनका लागि निर्माण भएको नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारलाई कांग्रेस-एमालेका नेताहरुले अहिले पनि इतिहासकै शक्तिशाली भनेर व्याख्या गर्छन्। वास्तवमै शक्तिशाली छ पनि। किनकी भिजिट भिसा प्रकरणबाट गृहमन्त्री लेखकलाई सर्लक्कै निकाले, सोही शीर्षकमा जोडिएका केही थान कर्मचारी छन्, तिनलाई निकाल्ने माध्यम बनिसक्यो। मात्रै साइत आउन बाँकी छ।

‘लहरो तान्दा पहरो गर्जन्छ’ भन्ने नेपाली उखान भिजिट भिसा प्रकरणमा चरितार्थ हुन्छ। मान्छेको चरित्र हो, वर्षौंदेखि खाइपाई आएको चिज सकेसम्म गुमाउन चाहँदैन। भिजिट भिसाका सन्दर्भमा वास्तवमै छानबिन गर्ने हो भने धेरैका लागि आम्दानीको स्रोत खुम्चन सक्छ। त्यसकारण पनि त्यताको लहरो तानेर पहरो गर्जन नदिनेमा प्रमुख दलहरुबीच सहमति भैसक्यो। तर, यो सहमति कांग्रेस, एमाले र माओवादीका लागि यति भारी पर्नेछ, त्यही भारीले थिचेर इन्तु न चिन्तु हुने दिन धेरै टाढा छैन।

अरुको त कुरा छाडौं, लेख्न पनि जानेका, वाक पटुता पनि भएका, बेलाबेला जनजीविकाका सवालमा कुरा पनि गर्ने कांग्रेसका महामन्त्रीद्वय थापा र विश्वप्रकाश  शर्माले कसरी जवाफ दिनेछन् यो प्रकरणबाट गृहमन्त्री लेखकलाई चोख्याएकाबारे। शर्माले उहिल्यै थाहा पाइसके । गृहमन्त्री लेखककाे भिजिट भिसामा कुनै संलग्नता नभएकाे बारे ।

जो भिजिट भिसामा विदेश गए, ती कोही पनि रहरले गएका थिएनन् र छैनन् पनि। केही काम नपाएपछि केही कमाउन पो सकिन्छ कि भनेर गाउँका हुने खानेहरुसँग ऋणपान गरेर गएकाहरुबाटै अनाधिकृत असुल उपर गर्नेहरुलाई कारबाही हुनुपर्छ भनेर अहिलेसम्म महामन्त्रीद्वयले बोल्न सकेका छैनन्।

भिजिट भिसाजस्तै दोहनका घटनामा राजनीतिक दलका नेताहरुको संलग्नता र उपस्थितिबारे पटकपटक चर्चा भएको छ। कतिपय घटनाको केही दिन चर्चा हुने र पछि सेलाएर जाने पनि गरेको छ। त्यसकारण सत्ताधारी दलका नेताहरुलाई लाग्दो हो- भिजिट भिसाविरुद्धको भेल पनि केही दिनमन लागि मात्रै हो।

तर, त्यसाे हाेइन । यसकाे चंगुलमा हजाराैं मान्छे परेका छन् । र एक एक हिसाब गरेर बसेका छन् । किनकी हिसाब कितावका लागि पनि साइत जुर्न पर्छ । त्याे साइत ०८४ काे चुनाव हुनसक्छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ