- भदौ ०२, २०८१
काठमाडौँ। नेकपा एमालेले सोमबार राष्ट्रियसभा गृहमा आयोजना गरेको ‘घर फर्क’ राष्ट्रिय अभियान घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन कुनै आन्दोलन नभएर ‘उपद्रव’ भएको टिप्पणी गरे।
‘जेनजी आन्दोलनमा जसरी आगो लगाइयो, यो राजनीति होइन। यो समाज परिवर्तनका लागिको आन्दोलन होइन,’ ओलीले भनेका थिए, ‘यो कसैले सिकाएर गरिएको एकदमै योजनाबद्ध, गुगल म्याप हेरिकन, खल्ती खल्तीमा म्याप बोकेर, हात हातमा हतियार र विस्फोटक चिज बोकेर हिँडेका मान्छेको योजनाबद्ध क्रियाकलाप हो। यो कुनै क्रान्ति होइन। विश्वमा यस्तो क्रान्ति कहीँ हुँदैन। यो उपद्रव हो।’
सोमबार बिहान मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अर्को उपद्रो गरेकी थिइन्। ओलीकै कोटामा प्रदेश प्रमुख नियुक्त भएकी सुमित्राले एमाले नेता सरोजकुमार यावदलाई होटलमा बोलाएर मुख्यमन्त्रीको शपथ खुवाएकी थिइन्। ओलीकै शब्द सापटी लिने हो भने प्रदेश प्रमुखले उपद्रो गरेकी थिइन्। संघीयताको धज्जी उडाएकी थिइन्। अहिले उनी पदमुक्त भैसकेकी छिन्। उनको पदमुक्तिका विषयमा ओलीले अहिलेसम्म मुख खोलेका छैनन्। शायद भन्न सक्छन्, ‘यो सरकार संविधानविपरीत काम गर्दैछ।’
ओलीले ‘जेनजी आन्दोलन’लाई उपद्रव भनेको लगभग तीन घन्टापछि प्रसारण भएको कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा अतिथिका रुपमा सहभागी भएका जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवले कुराकानी गर्दागर्दै आँसु झारे।
जेनजी आन्दोलन विशुद्ध भ्रष्टाचार विरोधी आन्दोलन भएको दाबी गर्ने यादवले २४ गतेको विध्वंसको जिम्मा तत्कालीन सरकारले लिनुपर्ने धारणा राखे। कुरा गर्दागर्दै उनको आँखाबाट आँसु झर्नुको प्रसंग थियो, मधेस प्रदेशको विद्रुप अवस्था।
यादवको भनाईअनुसार मधेसका युवाहरु कुलतमा छन्। कारण उनीहरु फ्रष्टेड छन्। खेती गर्ने किसानले भनेको बेला मल पाउँदैनन्, गाई पाल्नेको दुध बिक्री हुँदैन। कथित ठूलाबडाको दमन जारी नै छ। ‘मधेस खत्तम भैसक्यो। ८/९ कक्षा पढ्ने युवाहरु ड्रग्सको सहारामा छन्। यो स्थिति कसरी आयो?’, उनको प्रश्न थियो।
व्यवस्था परिवर्तन भए पनि पुराना राजनीतिक दलको नेतृत्वमा दूरदृष्टि नहुँदा युवा पुस्ता फ्रष्टेड भएको उनको भनाई थियो। स्वीस बैंकमा रकम जम्मा गर्नेमा नेपाल तेस्रो मुलुक भएको दाबी गर्दै अष्ट्रेलियाको रियल स्टेटमा भारतपछि नेपालीको ठूलो लगानी रहेको भन्दै प्रश्न गरे, ‘यो स्थिति कसरी आयो?’
मुलुकमा भ्रष्टाचार र बेथिति बढेकै कारण युवाहरु भ्रष्टाचारविरुद्ध अभियानमा लागेको तर, १९ जना युवाको हत्या भएकोमा तत्कालीन सरकारले अहिलेसम्म माफीसमेत नमागेकोमा उनले रोष व्यक्त गरे।
ओली अहिलेसम्म जेनजी आन्दोलनलाई आन्दोलन मान्न तयार छैनन्। इतिहासकै सर्वशक्तिमान सरकारको प्रधानमन्त्री दाबी गरेका ओली भदौ २३ मा भएको आन्दोलनको क्रममा ज्यान जोगाउनकै लागि सेनाको हेलिकप्टर चढेर बालुवाटारबाट भागेका थिए। नौ दिनपछि सार्वजनिक भएका ओली अहिले युवा संघका कार्यकर्ताको घेरामा बसेर जेनजी आन्दोलन आन्दोलन नभएर उपद्रव भनेर टिप्पणी गरिरहेका छन्।
यहाँनेर बुझ्नुपर्ने कुरा पुरुषोत्तम यादवको आँखाबाट झरेको आँसु युवाहरुको विपद्को बिम्ब हो भनेर ओली, देउवा र प्रचण्डले बुझ्न ढिला गरिरहेका छन्। पुरुषोत्तम यादवहरु त्यति कमजोर छैनन्, जसरी अहिले पुराना पार्टीका शीर्ष नेतृत्वले व्याख्या गरिरहेका छन्। लाग्छ, उनीहरुले एकदिन आँसुको मूल्य आफैं लिएर छाड्नेछन्।
टिप्पणीहरू: