शुक्रबार, १९ मंसिर २०८२

सरकारलाई चाहियो दुई लाख ३५ हजार विद्यार्थीले छात्रवृत्तिमा पढेको विवरण


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पाएको छात्रवृत्ति विवरण माग गरेको छ । 

मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई पत्राचार गर्दै विवरण उपलब्ध गराइदिन निर्देशन दिएको हो । शिक्षा ऐन २०२८, छात्रवृत्ति सम्बन्धी ऐन २०२१ र अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ मा निजी विद्यालयले भर्ना भएका मध्ये कम्तीमा १० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

मन्त्रालयले उक्त व्यवस्थाअनुसार शैक्षिक सत्र २०८० देखि २०८२ सम्म छात्रवृत्ति उपलब्ध गराएका विद्यार्थीको विवरण यथाशीघ्र उपलब्ध गराइदिन निर्देशन दिएको छ । कानुनमा छात्रवृत्रिसम्बन्धी व्यवस्था भए पनि विद्यालयले वितरण नगरेको, वितरण गरे पनि पहुँचका आधारमा उपलब्ध गराएको लगायतका गुनासो छ । छात्रवृत्ति कोटा पुरा गर्नकै लागि कतिपय विद्यालयले सरकारी कर्मचारीका छोरा छोरी, राजनीतिक दलका नेताका आफन्त र विद्यार्थी नेताका नातेदारलाई छात्रवृत्ति उपलब्ध गराउदै आएको गुनासो छ ।

देशभरका करिब ८ हजार १ सय निजी विद्यालयमा साढे २३ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ । १० प्रतिशतको आधारले निजीमा अध्ययनरत २ लाख ३५ हजार विद्यार्थीले छात्रवृत्ति पाउनुपर्ने हुन्छ । मन्त्रालयले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी, अभिभावकको नाम, कुन कोटाबाट छात्रवृत्ति प्राप्त गरेको हो त्यसको विवरण उपलब्ध गराउन ताकेता गरेको छ । जिल्ला, पालिका, विद्यालयको नाम, ठेगना, छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी अध्यनरत लगायत पूर्ण विवरण खुलाउन भनिएको छ ।

शिक्षामन्त्री महावीर पुनले कुनै विद्यालय छात्रवृत्ति उपलब्ध नगरेको भए नियामानुसार उपलब्ध गराउनुपर्ने बताए । ‘निजी विद्यालयले आ–आफ्ना विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाती विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने पर्ने नियम रहेछ । सो नियम अनुसार छात्रवृति पाएका विद्यार्थीहरुको नामावली देशभरका विद्यालयबाट सकंलन गरी पेश गर्न शिक्षा तथा मानव विकास केन्द्र सानोठिमी भक्तपुर लाई निर्देशन दिइएको छु,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ