- असार ०६, २०८०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताएका छन्।
प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा आज दलीय आधारमा बोल्दै सभापति लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको बताए।
‘हामी प्रश्न गरेर यो ठाउँमा आएका हौँ। हामीले बोलेर होइन कामबाट आफूलाई प्रमाणित गर्नुपर्छ। हामी विगतका कमजोरीबाट पाठ सिक्नेछौँ’, सभापति लामिछानेले भने, ‘यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको थलो होइन। प्रतिपक्षलाई अन्यायपूर्वक प्रतिशोध र अत्याचार हुनेछैन, तर सुशासनको बेग पनि रोकिनेछैन। रास्वपाका हरेकले बोलेर होइन, कामबाट आफूलाई प्रमाणि गर्नुपर्नेछ।’
आफ्नालाई बचाउन र अरुलाई फसाउन कानुन नै संशोधन हुने क्रम अब नहुने जिकिर गर्दै उनले सहिदको आमाको न्याय पाउने पहिलो हक भएकाले त्यसलाई प्रतिशोध भन्न नपाइने बताए।
सभापति लामिछानेले बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रलाई अब त्यस्तो दबाब नपर्ने भन्दै समान अवसर र व्यावसायिक वातावरण सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरे।
उनले जातीय र लैङ्कि आधारमा कुनै विभेद नहुने सङ्कल्प गर्दै ज्येष्ठ नागरिकको सम्मान र बालबालिकाको शिक्षा, स्वास्थ्यका लागि विशेष ध्यान दिने बताए।
विगतमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्ने अपेक्षा गर्दै उनले नयाँ नियुक्तिमा विधि र योग्यताको मापदण्ड पालना हुने स्पष्ट गरे। सभापति लामिछानेले राजदूतको नियुक्ति बिचौलियाको प्रभावमा नभई श्रमिकको हितकेन्द्रित हुने पनि बताए।
गैह्रआवासीय नेपालीको पुँजी, सीप र अनुशासनलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने बताउँदै उहाँले मुलुकले प्रतिपक्षलाई पनि साथमा लिएर मित्रवत् र पारदर्शी परराष्ट्र नीति कायम गर्ने बताए।
टिप्पणीहरू: