बुधबार, ११ असार २०८२

७० सालपछि प्रहरी कानुन बनाउँदैछौं, यो मेरो प्राथमिकताको विषय हो: गृहमन्त्री


काठमाडाैँ। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सम्भव भए नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन्।

‘समितिमा आजबाट नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौं’, उनले भने, ‘७० सालपछि प्रहरी कानुन बनाउँदैछौं। यो मेरो र गृह मन्त्रालयको प्राथमिकताको विषय हो। विधेयक टुंगो लगाउन जति समय छलफलका लागि भन्नुहुन्छ हामी तयार छौं।’

उनले सशस्त्र प्रहरी बलको विधयेक पनि महत्वपूर्ण नै रहेको बताउँदै सो विधयेक पनि टुंगो लगाउन समितिसमक्ष आग्रह गरे।

‘गृहअन्तर्गतका अरु पनि विधयेकहरु पाइपलाइनमा छन्’, मन्त्री लेखकले भने, ‘यी विषयहरुमा समितिका माननीयहरुले दिनुभएको प्राथमिकताका लागि धन्यवाद दिन चाहन्छु।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ