- असार ०७, २०८०
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष एवं मधेस प्रदेशका इन्चार्ज सुभाष साहले संगठनको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।
प्रेस संगठनमा मनोमानी, हैकमवाद र एकाधिकार शैली भएको आरोप लगाउदै साहले राजीनामा दिएको जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभाजन भई गठन भएको एकीकृत समाजवादीमा पनि विधि, विधान, उल्लंघन गर्ने कार्य चरम सिमामा पुगेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुबैको कार्यशैली उस्तै, विधा उल्लंघन गर्ने, मनोमानी गर्ने, हैकमवाद शैलीमा अगाडी बढने भएपनि एकीकृत समाजवादीको औचित्य र आवश्यक्ता नभएको ठहर समेत साहको रहेको छ । उनले एकीकृत समाजवादीलाई विघटन गर्नुपर्ने र मर्ज गर्दा राम्रो हुने सुझाव समेत दिएका छन् ।
‘पर्सा संगठनमा विवाद सुरू हुँदा तत्कालिन समयमा संगठनको केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठ नै हुनुहुन्थ्यो र हालको समयमा पनि संगठनको केन्द्रिय अध्यक्षमा शम्भु श्रेष्ठ नै हुनुहुन्छ तर पनि पर्सा संगठनको समस्या समाधान नभई पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा विधि, विधान उल्लंघन गर्ने, सर्वसम्मतिको निर्णय कार्यान्वयन नगर्ने प्रवृत्ति कोही कसैकालाई मान्य हुदैन्,’ साहले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
टिप्पणीहरू: