शुक्रबार, २९ चैत २०८१

विद्यालयलाई गृहमन्त्रीले भने- आवश्यकताभन्दा बढी शुल्क लिने काम बन्द गर्नुस्


काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी तथा आवासीय विद्यालयलाई आवश्यकता भन्दा बढी शुल्क लिने काम बन्द गर्न आग्रह गरेका छन् ।

शुक्रबार राष्ट्रिय निजि तथा आवासीय विद्यालय ऐशोसिएसन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लेखकले अभिभावकलाई दबाब दिने,प्रभोलनमा पारेर आफ्नो संस्थामा तान्ने जस्ता काम गरिराखेकाे भए बन्द गर्न आग्रह गर्दै अन्यथा सरकारले नियन्त्रण गर्ने बताए ।

“सरकारले निजी तथा आवासीय विद्यालय र सरकारी विद्यालयहरुका लागि सन्तुलित नीति निमार्ण गर्छ”, उनले भने ।

शिक्षा,स्वास्थ्यको क्षेत्रका केही छैन भन्ने भाष्य निमार्ण भएको बताउँदै लोकतन्त्रका कारण मुलुकमा थुप्रै विश्विद्यालय स्थापना भएको उनकाे भनाई थियाे । सरकारले शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने बताउँदै निजी तथा आवासीय विद्यालयहरुले आफूभित्र भएका समस्याहरु स्वःनियमन गरेर समाधान गर्नुपर्ने बताए। 

सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको उनकाे भनाई  थियाे ।  सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको बताउँदै छिट्टै सदनबाट स्वीकृत हुने दावी गरे ।

“केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको छ,” गृहमन्त्री लेखकले भने, “हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौं ।”

त्यसैगरी उनले सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्र उत्साहित भएको बताए । “हाम्रो संविधानले पनि तीन खम्बे अर्थ नीतिको व्यवस्था गरेको छ”, उनले भने, “निजी क्षेत्रका लागि सरकारले व्यावसायिक वातावरण सुनिश्चित गर्न लागेको छ ।” 

उनले कांग्रेस र एमाले समीकरण कोही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नमिलेको बताउँदै देश विकासको लागि स्थिर सरकार बनाएका दावी गरे ।

“अहिलेको समीकरण सरकार बनाउनको लागि सरकार र केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै बनेको होइन”, गृहमन्त्री लेखकले भने, “हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस् र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्तिको यात्रामा अघि बढाउनको लागि बनाएके हो ।”

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ