- असार ०६, २०८०
काठमाडौं, २० भदौ । नौ महिनासम्म कोखमा राखेर जन्माएकी आमाले आफैले लालन पालन गरेको सन्तानको हत्या गरेको घटना बिरलै सुनिन्छ । मोरङको सुन्दरहरैँचामा एउटी निर्दयी आमाले कलिला दुई छोरीको विष खुवाएर हत्या गरेकी छिन् । सुन्दरहरैचा ७ स्थित केरा बगानभित्र दुई नाबालिकाको शव भेटिएको घटनामा आमाकै संलग्ना पाइएको प्रहरीले पुष्टि गरेको छ ।
गत शनिबार जिल्लाको सुन्दरहरैँचास्थित केरा बगानभित्र १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्कीको शब भेटिएको थियो । उनीहरु धनकुटाको पाख्रीबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्की र अस्मिताका नाबालिका छोरीहरू थिए । केरा बगानभित्र दिदीले बहिनीलाई अंगालो हालेको अवस्थामा शव फेला परेको थियो ।
शुक्रबार साँझै बेपत्ता भएकी अस्मिताले सोही राति छोरीहरूलाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
सो घटनामा मृतक नाबालिकाकी आमा २१ वर्षीया अस्मिता पौडेल (कार्की)लाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको हो । नाबालिकाहरूको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । त्यही ‘मेटासिट’ खुवाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए ।
अस्मितालाई प्रहरीले बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेको थियो । अहिले अस्पतालमा उपचाररत अस्मिताले छोरीहरूलाई विष खुवाएपछि आफूले पनि विष सेवन गरेको प्रहरीलाई बयान दिएकी छन् ।
सुरुमा आफूले विष सेवन गरेको र छात्ती पोल्न थालेपछि छोरीहरूलाईसमेत खुवाएको उनले बताएकी छन् । आफूलाई श्रीमान अर्जुनले पहिलेदेखि तनाव दिँदै आएका कारण यो घटना भएको उनले बताएकी छन् ।
पछिल्लोपटक आफ्नो निर्माणाधीन घरमा पानी हाल्ने विषयमा अर्जुनसँग अस्मिताको विवाद भएपछि उनीहरूका नाबालिका छोरीहरू आइका र अपर्णालाई विष खुवाएर हत्या गरेको खुलेको छ ।
अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको थियो । उमेरले २१ वर्षमात्रै पुगेकी अस्मिताले १५ वर्षमै विवाह गरेको खुलेको छ । प्रेम विवाह गरेपछि किशोरावस्थामै छोरीहरू जन्मिएका थिए ।
उनका अनुसार पक्राउ परेकी अस्मिताले पनि विष सेवन गरेको खुलेको छ । उनको अहिले विराटनगरस्थित कोसी अस्पताल विराटनगरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
टिप्पणीहरू: