शुक्रबार, १९ मंसिर २०८२

एमाले महाधिवेशन: यी अनुहार पदाधिकारीमा अटाउन्


काठमाडाैँ। पछिल्लो तीन वर्षमा नेकपा एमालेमा केपी शर्मा ओलीपछि सबैभन्दा धेरै चर्चाको विषय बनिन्, केन्द्रीय सदस्य उषाकिरण तिम्सेना। उनी चर्चामा आउनुको एउटै कारण थियो, पार्टी अध्यक्ष ओलीले गरेको एउटा अप्राकृतिक कामको विरोध।

जब एमाले अध्यक्ष ओली र भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङबीच सम्पत्तिमा एमालेका लागि जग्गासहित घर निर्माण गर्ने सहमति भयो, त्यसलाई धेरैले निको मानेनन्। अदालतमा मुद्दा चलिरहेका एकजना उद्यमी र मुलुकको तत्कालीन दोस्रो ठूला पार्टीका नेताबीचको लेनदेनलाई अप्राकृतिक मान्नेहरु धेरै थिए। अरुले त आलोचना गरे नै, एमालेकै कतिपय कार्यकर्तालाई समेत चित्त बुझेन। सामाजिक सञ्जालमार्फत टिप्पणी गरे। तर, एमाले नेतृत्वले ती टिप्पणीलाई गम्भीरतापूर्वक लिएन।

महासचिव शंकर पोखरेल,उपमहासचिव प्रदीप ज्ञवालीलगायतले मिनबहादुर–ओली साझेदारीलाई पार्टीका लागि ‘औद्योगिक क्रान्ति’ सरह भावमा व्याख्यात्मक टिप्पणी गरे। मिनबहादुरको जग्गा लिनहुन्न भन्ने कुराबाट रुष्ट ओलीले त ‘अन्य पार्टीको घर पनि व्यापारीकै पैसाले त बनाएको हो नि’ भन्दै उल्टो रियाक्सन गरे। यसलाई ओलीले यसरी अर्थ लगाएका थिए कि ‘व्यापारी भ्रष्ट नै किन नहुन्, एमालेले सित्तैमा पाएको सम्पत्ति छोड्दैन।’

तर, जनस्तरमा ओली र एमालेले गलत गरेको टिप्पणी व्यापक थिए। त्यसरी टिप्पणी गर्नेमध्ये केन्द्रीय सदस्य उषाकिरण तिम्सेना र पोलिटब्युरो सदस्य डा. बिन्दा पाण्डेलाई भने पार्टीले कारबाही गर्‍याे। उनीहरु ६ महिनाका लागि निलम्बनमा परे। तर, तिम्सेना अप्राकृतिक सम्झौताको विरोधमा डगिनन्। कारबाहीको सामना गरिन्।

घटनाक्रमले तिम्सेनाको अडान पुष्टि गर्‍याे। त्यही अप्राकृतिक साँठगाँठको मार हरेक आन्दोलनमा मिनबहादुरले खेपिरहेका छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा त १५ जनाले भाटभटेनीमा जलेर प्राण त्यागे। ती आन्दोलनकारी थिए वा लुटेरा अनुसन्धान हुँदै जाला। भाभटेनीमाथिको भौतिक आक्रमणको मूल कारण ओली र एमालेसँगको अप्राकृतिक सम्बन्ध नै हो।

अहिले एमाले ११औँ महाधिवेशनको सङ्घारमा छ। ईश्वर पोखरेल भर्सेज केपी ओली महाधिवेशन हुने निश्चित भएको छ। दुबै पक्षले आ-आफ्नो तयारीलाई तीव्र बनाएका छन्। दुबै समूहमा उम्मेदवार बन्ने तयारीमा रहेकाहरु आफैँले जित्ने दाबी गर्दै आएका छन्।

दुई पक्षीय उम्मेदवार मैदानमा हुँदा एउटाले हार्छ, अर्कोले जित्छ यो स्वभाविक प्रकृया हो। तर केही पात्र यस्ता छन्, जसलाई निर्विवाद जिताउँदा पार्टीलाई राम्रो हुन्छ। जेनजी आन्दोलनलाई आन्दोलन भन्न अस्वीकार गरिरहेको एमालेले ढिलै किन नहोस्, पार्टीमा केही प्रतिशत जेनजी अनुहार भित्र्याउने योजना बनएको छ। तर, अहिलेसम्मको गति हेर्दा समानुपातिक शीर्षकमा नेताहरुको श्रीमती व्यवस्थापन गरेजस्तै जेनजी शीर्षकमा पनि नेताहरुका नातेदारलाई नै ठाउँ नदेलान् भन्न सकिन्न। जेनजीका नाममा कसले मौका पाउँछन्? त्यसपछि बहस गरौंला। अहिले कुरा गरौँ पदाधिकारीको।

महेश बर्तौला, पदम गिरी, ठाकुर गैरे, उषाकिरण तिम्सेना, सुहाङ नेम्वाङ एमालेले पदाधिकारीमा छुटाउन नहुने नाम हुन्। यी नाममध्ये अहिलेसम्म गिरी र बर्तौला ओली पक्षीय भनेर चिनिन्छन् भने गैरे र तिम्सेना पोखरेल पक्षीय। नेम्वाङको व्यक्तित्व अहिलेसम्म साझाजस्तै छ।

यी पाँच जनाबाहेक अरु पनि धेरै छन्, जो पार्टीलाई गति दिनका लागि योगदान गर्न सक्छन्। यी पाँच जनाको नामै लिनुको उद्देश्य हो, विगतमा यिनले पार्टीका लागि गर्दै आएका योगदान। यसो भनिरहँदा लाग्न सक्छ, एनपिएल क्रिकेट हुरु हुँदै गर्दा गिरीले कीर्तिपुर पुगेर स्टेडियमको भन्दा धेरै प्रशंसा ओलीका गरे। बर्तौलाको पनि शैली त्यस्तै छ। पार्टीका मुद्दाभन्दा बढी ओलीको प्रशंसामा ध्यान केन्द्रित गर्दै आएका छन्। यही घटनालाई लिएर यी अनुहारलाई खुइल्याउनु श्रेयस्कर हुँदैन।

पछिल्लो १० वर्षयता एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको छ। जहाँ आन्तरिक लोकतन्त्र कमजोर हुन्छ, त्यहाँ ‘मुर्खदेखि दैवको दुहाई’ भन्ने नेपाली उखान चरितार्थ हुन्छ। अहिले यी अनुहारहरु रहरले होइन, बाध्यताले मुर्खलाई खुसी बनाउन दैवको दुवाई गर्दैछन्। यसलाई किन पनि अन्यथा लिन हुँदैन भने नेपाली समाजको चरित्र नै यही हो। जसरी ओलीले साम, दाम, दण्ड, भेद प्रयोग गरेर नेतृत्वमा टिकिरहने उपाय खोजेका छन्। उनका अनुयायीहरुले पनि कुनै न कुनै उपाय खोज्नैपर्छ। त्योमध्ये अहिलेको अवस्थामा सबैभन्दा सजिलो उपाय भनेकै देवकै दुवाई हो। दैवको दुवाई गरेको देख्नेबित्तिकै मुर्खले आफूलाई सुरक्षित महसुस गर्छ।

ओलीबाहेक विष्णु पौडेल, विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याललगायत अरु पनि छन्। यीमध्ये कसैले नजित्दा पनि केही फरक पर्दैन। यी व्यक्ति नेतृत्वमा पुग्दा पार्टीको हविगत के भयो? जगजाहेरै छ।

एमालेमा अहिले माथिदेखि तलसम्मै सचेतहरुलाई अचेतहरुले शासन गर्ने परिपाटी कायमै छ। यसको प्रभाव महाधिवेशनमा पक्कै पर्छ। तर, शासित नै भएपनि केही प्रतिशत सचेत जीवित रहेकाले तिनले चाहेमा पार्टीमा रुपान्तरण पनि गर्न सक्छन्। आशा गरौं यसपाली निदाएको अभिनय गर्नेहरुलाई सचेतहरुले पानी छम्केरै भए पनि ब्युँझाउनेछन् र पार्टीका लागि उर्जाशील अनुहारलाई पदाधिकारीमै निर्वाचित गराउनेछन्। यदि त्यसो गरेमा एमालेले फेरि पनि कांग्रेस वा अन्य कुनै पार्टीको वैशासी बिनै चुनावमा खुट्टा टेक्ने हैसियत बनाउने छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ