बिहिबार, १५ माघ २०८२

नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ: प्रचण्ड


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताएका छन्।

आइतबार सिंहदरबारमा आयोजित राष्ट्रियसभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे।

जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरुले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त गरे।

संयोजक प्रचण्डले जेन्जी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको बताए। जेन्जी युवाहरूले पनि तीन प्रमुख दलमध्ये नेपाली कम्युनिष्ट पार्टी र यसको नेतृत्व फरक रहेको महसुस गरेको उनले बताए।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उत्साह विस्तारै ती पार्टीका उम्मेवारहरुका गतिविधिका कारण विस्तारै कमजोर हुँदै गएको र उनीहरुका गतिविधिलाई जनताले गहिरो गरि हेरिरहेको बताए।

मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको पनि उनले उल्लेख गरे।

गोरखामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब–करिब सुनिश्चित जस्तै भएको संयोजक प्रचण्डले बताए। उम्मेदवारी फिर्ता र डा.भट्टराईसँग भएका संवादले अब डा.भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने उनले विश्वास व्यक्त गरे।

पार्टीले दिएका उम्मेदवारविरुद्ध देखिएका अधिकांश असन्तुष्टिहरू संवादबाट हल गरिएको र नमिलेका एक दुई ठाउँमा अनशासनको कारबाहीमार्फत क्रमशः समाधान हुँदै गएको उल्लेख गर्दै उनले निर्वाचनको नतिजा पार्टीकै पक्षमा आउने मिहनेत गर्दा पहिलो दल बन्ने विश्वास व्यक्त गरे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ