- असार ०६, २०८०
काठमाडौँ। दीपकप्रसाद आचार्य निर्देशित चलचित्र ‘परान’ हेरिसकेपछि निर्देशक दिपेन्द्र के खनाल सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘परान’ मा साँच्चिकैको परान छ। ‘परान’ सरल छ तर मन छुने छ। चलचित्र सकिएपछि नीर शाह दाजु यसरी मनमा बस्नुहुन्छ कि त्यसको शब्दमा बयान नै गर्न सकिँदैन। अन्य माझिएका कलाकारहरुले पनि आ–आफ्नो ठाउँबाट उत्कृष्ट छाप छाडेका छन्। पहिलो निर्देशनबाटै निर्देशक दीपकप्रसाद आचार्यले आफ्नो कौशल देखाएका छन्।’
अन्य प्राविधिकको पनि तारिफ गर्दै उनले लेखेका छन्, ‘चलचित्रका संवाद-पटकथाकार यम थापा पनि बधाईका हकदार हुन्।’ फिल्म राम्रो हुँदा हुँदै पनि हलमा दर्शकको संख्या न्यून भएको चिन्ता गर्दै खनालले लेखेका छन्, ‘चलचित्र सकिँदासम्म तृप्त भएको मन भने हल बाहिर निस्कँदै गर्दा खल्लो भयो। कारण हलमा दर्शकको न्यून उपस्थिति। राति घर फर्कँदासम्म बाटोभर सोच्दै आएँ, यतिको फिल्म चल्नपर्छ जसरी भए पनि चल्नैपर्छ।’
निर्देशक खनाल नेपाली फिल्म उद्योगका राम्रा निर्देशकमध्येमा पर्छन्। नेपाली फिल्मको आफ्नै स्वरुप हुनुपर्छ भन्ने मान्यता राख्ने खनालले राम्रो भनेर टिप्पणी गरेको फिल्ममा शंका गर्ने सुविधा दर्शकलाई छैन।
समीक्षक अषेश अधिकारीले फिल्म हेर्नेबित्तिकै समाजिक सञ्जालमा लेखे, ‘ट्रेलर हेरेर नाक खुम्च्याउनुभएको छ भने फिल्म हेर्नुस्, नाक फुलाउँदै बाहिर निस्किनुहुनेछ। उत्कृष्ट, मन छुन्छ।’ फिल्मकर्मीका भाषामा रेटिङमा कञ्जुस अषेशले पाँचमा चार रेटिङ दिएका छन्। पाँचमा चार शायद उनले कमै मात्रै फिल्मलाई दिएका छन्।
निर्देशक खनाल र समीक्षक अधिकारी मात्रै होइनन्, सामाजिक सञ्जालमा फिल्मको प्रशंसा गर्दै पोष्ट गर्नेहरुको संख्या हरेक क्षण बढ्दो छ। लाग्छ, मान्छेहरुमा एकखालको प्रतिस्पर्धा छ अहिले, ‘कतै परानको प्रशंसा गरिएन भने समाजमा नपरिने हो कि’ भन्नेमा छन्।
सामाजिक सञ्जालमा यति धेरै प्रशंसा पाएको सम्भव त पहिलो नेपाली फिल्म हुनुपर्छ। कलाकार, निर्देशक र आम सर्वसाधारण दर्शकले समेत यति धेरै प्रशंसा गर्नु भनेको ‘परान’ वास्तवमै राम्रो फिल्म बनेको प्रमाण हो। निर्देशक आयार्यप्रतिको दया वा निर्माता शेखर गोल्छाको माया लागेर फिल्मको प्रशंसा गरिएको होइन्। आम दर्शकलाई फिल्म कसले बनायो भन्नेसँग सरोकार हुन्न, मनपर्ने विषयवस्तु भए पुग्छ।
फिल्म साक्षरताको अभाव हो कि?
यति धेरै प्रशंसा हुँदा हुँदै पनि हलमा किन दर्शकको चाप बढेन? यक्ष प्रश्न उठेकाे छ। नेपाली फिल्ममा एउटा सदाबहार गुनासो सुनिन्छ, ‘राम्रो फिल्म बनेन।’ जब राम्रो फिल्म बन्छ, हलमा प्रदर्शन हुन्छ। तर, पनि दर्शकले फिल्म हेर्न जाँगर लगाउँदैनन् भने अर्को प्रश्न पनि उब्जन्छ। राम्रा फिल्म हेर्न किन जाँगर लगाउँदैनन् दर्शक? नेपाली फिल्मको बजारका विषयमा खास अध्ययन, अनुसन्धान भएको छैन। त्यही कारण हुनसक्छ कतिपय राम्रा भनिएका फिल्म नचल्दा पनि निर्माता वा कलाकारले कारण थाहा पाउँदैनन्।
गोपी, ऐन झ्यालको पुतली, भुठानलगायत यस्ता धेरै फिल्म छन्, जसले काफी प्रशंसा पाए तर, हलमा दर्शकको भिड लागेन। कतिपय औपचारिक कार्यक्रमहरुमा भनिन्छ, ‘हाम्रोमा फिल्म लिट्रेसी अभाव छ।’ यदि त्यस्तै हो भने फिल्म लिट्रेसी बढाउनुपर्नेमा ध्यान दिन जरुरी छ। ‘लिट्रेसी’ यसै बढ्दैन। त्यसका लागि गहिरो अध्ययन, अनुसन्धान हुन जरुरी छ। यदि वास्तवमै ‘फिल्म लिट्रेसी’ अभाव हो भने आम फिल्मकर्मी एक भएर राज्यलाई घच्घच्याउनुपर्छ। ‘फिल्म लिट्र्सी’ सामान्य कार्यक्रमले बढ्दैन। यसका लागि विशेष योजना बनाउनुपर्छ र यस्ता योजना कार्यान्वयनका लागि सरकारको साथ अनिवार्य हुनुपर्छ।
विशुद्ध नेपाली परिवेशमा बनेको छ ‘परान’। आफ्नै ठाउँको कथा, आफ्नै पन समेटिएको, कलाकारको जीवन्त अभिनय, चुस्त संवादले दर्शकलाई केबल मनोरञ्जन मात्रै दिँदैन, आफैंभित्र घोत्लिन बाध्य बताउँछ।
एउटा समय थियो, हजुरबादेखि नातीसम्म एउटै भान्सामा बसेर खाना खान्थे। एउटै घरमा बस्थे। आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने एउटा परिवारका लागि कमाउनदेखि रमाउनसम्म एउटै आँगन काफी थियो। २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनर्वहाली भएसँगै निजी क्षेत्रको उदयले मान्छेका कमाईका दायराहरु फराकिलो हुँदै गयो। गाउँमा बसेका मान्छे सदरमुकाम पुगे। सदरमुकाममा बसेकालाई आफू बसेको शहर साँघुरो महसुस भयो, राजधानी हानिए। केही वर्ष राजधानी वा अन्य शहरमा बसेकालाई फेरि आफू बसेको शहर साँघुरो लाग्न थाल्यो। उपायहरु खोज्ने क्रममा अर्कै देशको अर्को शहरमा सुन्दर भविष्यको सपना देख्यो र उतै हालियो। अहिले युवा पुस्तामा यो क्रम व्यापक छ। आफ्नै मुलुकममा पनि भविष्य छ भन्ने मान्छेहरु सार्है थोरै छन्।
सारमा भन्दा अहिले हरेक वर्गका आ-आफ्नै गुनासो छ। बाआमाको छोराछोरीप्रति, छोराछोरीको बाआमाप्रति गुनासै गुनासो छ। सुनौलो भविष्यको सपना बुन्दै देश छाड्ने योजना बनाउने छोराछोरी यतै बसिदिए हुन्थ्यो भन्ने लाग्छ बाआमालाई तर, नजा भन्न सक्दैनन्। छोराछोरीका पनि समस्या उस्तै उस्तै छ। बाआमाकै साथमा बस्न पाए हुन्थ्याे भन्ने धेरैलाई लाग्छ। धेरैका हकमा सम्भव हुन्न। आशै आश र योजनै योजनामा जीवन सकिएको पत्तै हुँदैन।
निर्देशक आचार्यले परानमा समेटेका पात्रहरु धर्मनाथ, धर्मनाथका तीन भाई छोरा, दुई बुहारी, नाती, काम गर्न बसेको केटो, गाउँका बुढालगायत मार्फत नेपाली समाजमा गाउँदेखि शहरसम्म घटिरहेको एउटा कथा भनेका छन्। जुन कथा यति रोचक लाग्छ, कहिँकतै औंला उठाउने ठाउँ भेटिँदैन।
टिप्पणीहरू: