सोमबार, ०९ असार २०८२

रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ : सरोज खनाल


काठमाडौँ । अभिनेता सरोज खनाल रङ्गमञ्च र चलचित्रका लागि परिचित नाम हुन् । उनले तीस भन्दा बढी नाटक र सय भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । 

नेपाली चलचित्रमा अभिनेता हुँदै पछिल्लो समय सहअभिनेताका रुपमा काम गरिरहेका  खनालले आठ वर्षको अन्तरालमा नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा काम गरेका छन् ।

विसं २०७४ ‘बाह्र दुर्वासा’ नामक नाटकमा अभिनय गरेपछि उनी चलचित्रमा व्यस्त भए । लगातार चलचित्रको फाँटमा क्रियाशीलन भएका अभिनेता खनाललाई आफ्नो अभिनयको अनुसाशन कायम नभएको आभाष भएपछि दुई महिना समय निकालेर रङ्गमञ्चमा प्रस्तुत भएका हुन् ।

 यसअवधिमा उनले तीनदेखि चार चलचित्रमा काम गरिसके, तर नाटकले दिएको सन्तुष्टी सायदै प्राप्त गर्थे होला । त्यही भएर उनी आफ्नो पात्रलाई नयाँ रुप दिन   दुई महिनादेखि मेहनत गरिरहेका छन् ।

 “अमेरिकाबाट स्वदेश फर्किएपछि नाटकघरबाट अभिनयको सुरुआत गरेको थिएँ । रङ्गमञ्चमा काम गर्दा आफूलाई बुझ्ने मौका पाउँछु, म आफूलाई सिक्न र बुझ्न यहाँ आउने गर्छु”, अभिनेता खनालले भने ।

 त्यसो त उनले चलचित्रमा मेहनत नगरेका भने होइन, आफूले पाएको भूमिकालाई निर्वाह गर्न अभिनेता खनालले पहिले जस्तो थप मेहनत गर्नुपर्दैन । न त निर्देशकले नै फरक किसिमले प्रस्तुत गर्ने जाँगर देखाउने गरेका छन् । दर्शकले रुचाइरहेकै स्वरूपमा निर्देशकले उनलाई पर्दामा ल्याएका हुन् । सोही कारण पनि अभिनेता खनालले नाटक गर्ने समय आयो भन्ने महसुस गरे ।

 “अहिले मैले चलचित्रमा गर्ने काम भनेको सहायक अभिनेताको रुपमा हुने गरेको छ । त्यसका लागि निर्देशकले मलाई दिनुभएको भूमिकालाई निर्वाह गर्छु, फेरी दैनिक छायाङ्कन पनि हुँदैन । त्यसैले पात्रमै बाच्नु पर्ने आवश्यकता हुँदैन, फेरी त्यहाँ एकपटक गरेको दृश्य सही भएन भने त्यसलाई अभ्यास गरेर पुनः गर्न पाइन्छ । त्यसले गर्दा हामीलाई प्राविधिक सहुलियत पनि छ, तर नाटकमा अवस्था भिन्न छ । जे हुन्छ, प्रत्यक्ष र दर्शकको अगाडि हुन्छ । त्यसैले हामीले यहाँ मेहनत गरेनौँ भने त्यसको परिणाम तुरुन्तै दर्शकमा देख्न पाइन्छ”, उनले भने ।

नाटकमा एउटा अभिनेताले एउटा पात्रलाई दुईदेखि तीन महिनासम्म बाँच्नु पर्ने हुन्छ । सुरुको केही दिन अभ्यास र त्यसपछि मञ्चनका क्रममा अभिनेताले निर्वाह गर्ने पात्रलाई नै जीवन मानिसकेका हुन्छन् ।

एउटा पात्रलाई दैनिक प्रस्तुत गर्दा त्यहाँ आत्मा बस्न थालेको हुन्छ । अर्थात् उक्त पात्रको सुखदुःखसँग कलाकार विस्तारै जोडिने गर्छन् । अभिनेता खनालले अभिनय गरिरहेकाे नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा द्वन्द्वकालमा यौनहिंसा भोग्न बाध्य भएकी एक सर्वसाधारण महिलाको कथा देखाइएको छ ।

 उक्त महिलासँग घटेको घटनाले मनोविज्ञानमा पारेको प्रभावले जो कसैलाई पनि असर गर्न सक्ने अभिनेता खनालको बुझाइ छ । उनले द्वन्द्वकालमा आफू बाहिर   भएकाले पनि यस्ता घटना र पात्रलाई प्रत्यक्ष रुपमा सुन्न नपाएको बताए ।

 “म लामो समय विदेशमा रहे । विशेषत द्वन्द्वकालका घटनालाई मैले परदेशबाट सञ्चारमाध्यममार्फत बुझ्ने मौका पाएँ । तर, त्यो समयमा जसको द्वन्द्वसँग कुनै सङ्लग्नता नै थिएन, ती पनि यस्ता समस्यामा छन् भन्दा वा सुन्दा दुःख लाग्छ । किनकि द्वन्द्वले दिएको बाहिरी घाउ वा चोट त हामीसबैले बुझेका र देखेका छौँ तर भित्री मानसपटलमा दिएको चोटलाई कसैले बुझ्न सकेको छैन । त्यही एउटा घाउलाई हामीले नाटकमार्फत प्रस्तुत गरेका छौँ”, अभिनेता खनालले भने ।

 द्वन्द्वको क्रुरता र भयावहलाई प्रस्तुत गर्दै न्याय प्रणाली र राज्यसँग प्रश्न गर्ने उक्त नाटकले युद्धले दिएको घाउको गहिराइ नाप्दै हिंसामा परेका महिलाको न्यायका लागि वकालत गर्छ । ‘मञ्जिराः द म्यूटेड मेलोडी’ द्वन्द्वले दिएको घाउ लिएर बाँचिरहेकी मञ्जिरा (सरस्वती चौधरी) को कथा हो । काठमाडौँबाट शान्ति खोज्दै बर्दिया पुग्नुभएका अधिवक्ता गोपाल(सरोज खनाल) को परिवार कहाँ मञ्जिराको पति प्रेम (सशांक मैनाली) चालक हुन् ।

अधिवक्ता गोपालको पत्नी शान्ति(सरिता गिरी)लाई बर्दियाको गर्मी मन परेको छैन, उनी अशान्त हुन्छन् । अधिवक्ता पेसा छाडेर गृहिणी बनेकी शान्तिलाई तब शान्ति मिल्छ, जब गोपाललाई द्वन्द्व पीडितको न्यायसँग सम्बन्धित उच्चस्तरीय छानबिन आयोगको अध्यक्ष बनाउने खबर आइपुग्छ ।

 घरमा आइपुग्नुभएका पाहुना कवीन्द्र (अनुप न्यौपाने)ले नै गोपाल आयोगको अध्यक्ष बन्दै गरेको कुरा शान्तिको अगाडि फुत्काइदिनुहुन्छ । यसले उनकी पत्नी शान्तिलाई काठमाडौँ फर्किने वातावरण निर्माणमा सघाउँछ । तर, ती पाहुना कवीन्द्रको अतीतले मञ्जिरा र युद्धको विगतका कुरालाई वर्तमानमा ल्याउँछ । त्यसपछि त्यही मञ्चमा सुरू हुन्छ, छानविन । ती दृश्यलाई अभिनेता खनालले गर्न थालेकाे एक महिना पुग्नै लागिसक्यो त्यही पनि उनका आँखा रासाउँछन् ।

 “म नाटकको अन्त्यतिरका दृश्यमा आफ्ना आँशुलाई रोक्न सक्दिन । किनकि मञ्जिरा जस्तै मनमा घाउ बढाएर बस्ने कति धेरै हुनहुन्छ होला ? जसलाई कसैले सम्बोधन गरेको छैन, जसको कुनै सम्बन्ध द्वन्द्वसँग थिएन । जसले अहिले पनि आफ्नो लडाइ लडी नै रहनुभएको छ”, अभिनेता खनालले भने ।

उनलाई द्वन्द्वसँग जोडिएका व्यक्ति वा यसका उपलब्धिमा रमाउने व्यक्तित्व नाटक हेर्न नआउँदा दुःख लागेको छ, तर नाटक हेर्न आइपुगेका सर्वसाधारणले दिइरहेकाे प्रतिक्रियाले उनी खुसी हुन्छन् ।

 “नाटक हेर्ने केही दर्शकले अब हाम्रो आवाज बुलन्द हुन्छ भन्ने विश्वास व्यक्त गरेका छन्, केहीले आफ्नै कथा पाएँ भन्दा मञ्जिरा पात्रलाई अङ्गाल्दै आफ्नो भावना व्यक्त गर्नुभएको छ । हामी कलाकारले आफ्नो कलाको माध्यमले उठाउन सक्ने आवाज सायद यही नै हो”, उनले भने। 

नाटकले दिएको सन्तुष्टीकै कारण अभिनेता खनाल अब वर्षमा कम्तीमा दुई नाटकमा अभिनय गर्ने योजनामा छन् । विगतमा चलचित्रकै लागि नाटक छाड्नु भएका अभिनेता खनाल आउँदा दिनमा नाटकका लागि चलचित्र छाड्ने भएका छन् । किनकि उस्तै र उही भूमिका गरिरहेका खनाललाई नाटकले अनुशासित बनाएको छ ।

“विगतमा चलचित्रकै कारण केही नाटकमा आफूलाई प्रस्तुत गर्न पाइनँ । अहिले चलचित्रभन्दा पनि नाटक मेरो प्राथमिकतामा परेको छ । चलचित्रमा निरन्तर काम गरिरहँदा आफ्नो अभिनय क्षमतालाई बढाउन र मापन गर्न रङ्गमञ्चको आवश्यकता महसुस गर्छु, किनकि यहाँ हामी कलाकारलाई चाहिने अनुसाशन छ । त्यसले हाम्रो कलाकारितालाई कायम राख्न मद्दत गर्छ”, उनले भने । 

अभिनयका नयाँ शैली र भावलाई बुझ्दै आफूभन्दा कनिष्ट कलाकारसँग उही उर्जाका साथ काम गर्ने अठोटले अभिनेता खनाललाई पुनः रङ्गमञ्चमा रहरीयाभन्दा पनि मेहनती कलाकारको रुपमा परिभाषित गर्दैछ । किनकि रङ्गमञ्चमा आउने र काम गर्ने इच्छा धेरै कलाकारको हुन्छ, प्रयास पनि गर्छन् तर यहाँ चाहिने समर्पण, लगनशीलता र निरन्तरता कमै कलाकारमा देख्न पाइन्छ ।

अभिनेता खनालले रङ्गमञ्च प्रति देखाउनुभएको सम्मानले उनको यो यात्रालाई धेरै अगाडिसम्म पु-याउने अनुमान नाट्यकर्मीले गरेका छन् । किनकि पछिल्लो समय रङ्गमञ्चलाई चलचित्रसम्म पुग्ने भर्याङ बनाउने कलाकारको भिडमा अभिनेता खनालले आफ्नो कलाकारिता बचाउन रङ्गमञ्च आएका छन्।

 “यो मैले आफ्नै कलाकारिताको हैसियत बुझ्न पनि अपनाउने गरेको सुत्र हो । रङ्गमञ्च आइसकेपछि वा यहाँ प्रस्तुत भएपछि कुनै पनि कलाकारलाई आफ्नो कलाकारिताबारे भ्रम भने हुँदैन, छर्लङ्ग भइन्छ । मैले यहाँबाट प्राप्त गरेको ऊर्जा र सिकाइ आगामी दिनका मेरो काममा पक्कै देखिने छ भन्ने विश्वास छ”, अभिनेता खनालले भने ।

 सोमनाथ खनालले निर्देशन गरेकाे नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मण्डला नाटकघरमा यही असार ८ गतेसम्म नियमित मञ्चन भएको थियो । आउँदो केही ‘विकेन्ड’ मा ‘बुक्ड शो’ हुने नाटक घरले जनाएको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ