- असार ०६, २०८०
काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको फेसबुकमा मंगलबार बिहान एउटा तस्विर पोष्ट भयो। तस्विरमा देखिएका आकृति चिन्नका लागि संगै लेखिएको क्याप्सनको सहारा लिनुपर्ने थियो धेरैका लागि। तस्विर देखिएका पात्रहरु नेपाली राजनीतिमा अहिले शीर्ष स्थानमै रहेपनि तस्विर खिचिएको सन्दर्भ र समय निकै पुरानो भएकाले तस्विर हेरेकै भरमा झट्ट चिन्न गाह्राे थियो।
पोखरेलले एमाले नेता विष्णु पौडेलसँग लगभग ४५ वर्ष अगाडि खिचेको तस्विर पोष्ट गर्दै लेखे ‘प्रिय विष्णु पौडेल कमरेड ! जन्म दिवसका अवसरमा हार्दिक शुभकामना! जोखिम, प्रतिकूलता र दु:खका दिनमा हामी संगै रहेको क्षण याद दिलाउने तस्विरमा हामी दुई !’
ढाका टोपी लगाएका पोखरेल र उनको जुरे टोपीमा सजिएका पौडेलको यो तस्विर जाडोयाममै खिचिएको अनुमान गर्न सकिन्छ। पोखरेलले स्वीटर र गलामा गलबन्दी भिरेका छन् भने पौडेलले बाक्लो ट्रयाक लगाएका छन्। दुबै जनाको पाइन्ट बेलिबटम छ। बेलिबटमा तीसको दशकको चर्चित डिजाइन हो।
११औँ महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका पोखरेलले यो तस्विर पोष्ट गरेर पौडेललाई फकाउन खोजेको अनुमान धेरैले गरेका छन्। केपी शर्मा ओलीकाविरुद्ध उम्मेदवारी घोषणा गरेका पोखरेल अहिले आफ्नो टिम बनाउने योजनामा छन् भने अर्का प्रभावशाली नेता पौडेल कतै खुलेका छैनन् तर, ओली समूहबाट उठ्ने अनुमान गरिएको छ।
पार्टीभित्र राम्रो पकड बनाएका पौडेल निर्णायक शक्ति मानिन्छन्। पौडेल जुन टिमबाट उठ्छन्, सोही टिमले जित्ने अनुमान पनि गरिएको छ। ओली समूहले पौडेललाई उपाध्यक्ष र पृथ्वीसुब्बा गुरुङलाई महासचिवमा उठाउने छलफल चलिरहँदा पोखरेल समूहमा पनि दुबै जनालाई आफ्नै टिममा समावेश गर्ने योजना बनाइरहेका छन्।
टिप्पणीहरू: