- असार ०६, २०८०
नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मुख्यधारका टेलिभिजन सञ्चारमाध्यमप्रति बढ्दो अविश्वासलाई सतहमा ल्याएको छ । प्रदर्शनस्थलमा समाचारकर्मीमाथि भएका दुर्व्यवहारका घटनाले सरकारसँग निकट रहेको आरोप खेपिरहेका परम्परागत सञ्चारमाध्यम र स्वतन्त्र डिजिटल माध्यमबीचको बढ्दो दूरीलाई पनि उजागर गरेको छ ।
‘कक्रोच जनता पार्टी’ आन्दोलनको नेतृत्वमा देशभर आयोजित प्रदर्शनमा सहभागीहरूले केही टेलिभिजन च्यानललाई ‘भारतको सबैभन्दा खराब शत्रु’ भन्दै विरोध जनाएका थिए । प्रदर्शनकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग निकट रहेको आरोप लगाउँदै मुख्यधारका सञ्चारमाध्यमलाई ‘ल्यापडग मिडिया’ को संज्ञा दिएका थिए ।
नयाँदिल्लीको जन्तरमन्तर प्रदर्शनस्थलमा सहभागी अधिकांश युवाले आफूहरू समाचारका लागि सामाजिक सञ्जाल र स्वतन्त्र डिजिटल प्लेटफर्ममा बढी निर्भर हुने बताएका छन् । २८ वर्षीय सफ्टवेयर व्यवसायी सुखजित नरुलाले परम्परागत समाचार च्यानलहरूले हरेक आन्दोलनलाई राष्ट्रविरोधी गतिविधिका रूपमा चित्रण गर्ने गरेको भन्दै त्यस्ता माध्यमप्रति निराशा बढेको बताए ।
प्रदर्शनका क्रममा केही टेलिभिजन पत्रकार प्रत्यक्ष आक्रमणको समेत सिकार बने । अङ्ग्रेजी समाचार च्यानल टाइम्स नाउका पत्रकार देव कोटकमाथि नयाँदिल्लीमा प्रदर्शनकारीहरूले पानी छ्यापेपछि कुटपिटसमेत गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनी सुरक्षाकर्मीको संरक्षणमा घटनास्थलबाट भाग्दै गरेको देखिन्छ । उनका अन्य तीन सहकर्मीमाथि पनि दुर्व्यवहार भएको जनाइएको छ ।
एएफपीले प्रमाणीकरण गरेको अर्को भिडियोमा मुम्बईमा प्रत्यक्ष प्रसारण गरिरहेका जी टिभीका पत्रकारलाई प्रदर्शनकारीहरूले घेरेको देखिएको छ भने पटनामा पनि एक पत्रकारलाई भीडले पछ्याएको दृश्य सार्वजनिक भएको छ ।
टाइम्स नेटवर्कले आफ्नो टोलीले प्रदर्शनलाई पूर्ण तटस्थताका साथ समाचार बनाएको दाबी गर्दै पत्रकारमाथिको आक्रमणको निन्दा गरेको छ । विचारमा मतभेद हुन सक्ने भए पनि कानून हातमा लिन नहुने कम्पनीको भनाइ छ ।
सञ्चार क्षेत्रका विश्लेषकहरूका अनुसार यी घटनाले वर्षौंदेखि बढ्दै आएको जनअविश्वासलाई प्रतिबिम्बित गर्छ । पत्रकार रवीश कुमारले मुख्यधारका केही सञ्चारमाध्यमले आफ्नो विश्वसनीयता गुमाएको आरोप लगाउँदै आलोचकहरूले प्रयोग गर्ने ‘गोदी मिडिया’ अर्थात् ‘ल्यापडग मिडिया’ भन्ने शब्द त्यही असन्तुष्टिको अभिव्यक्ति भएको बताए । उनका अनुसार वास्तविक जनचासोका विषयलाई षड्यन्त्रका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले सञ्चारमाध्यमप्रतिको विश्वास कमजोर बनाएको छ ।
सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएयता प्रेस स्वतन्त्रताबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दै आएको अधिकारवादी संस्थाहरूले जनाएका छन् । रिपोर्टर्स विदाउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत हाल १८० देशमध्ये १५७औँ स्थानमा रहेको छ । यो सन् २०१३ को तुलनामा उल्लेखनीय गिरावट हो ।
सरकारको आलोचना गर्ने पत्रकारहरूले मुद्दा, गिरफ्तारी र अनलाइन दुव्र्यवहारको सामना गर्दै आएको आरोप लाग्दै आएको छ । विपक्षी दलहरूले पनि केही समाचार च्यानलले मुस्लिम अल्पसङ्ख्यकसम्बन्धी समाचारलाई ध्रुवीकरण हुने ढङ्गले प्रस्तुत गर्दै सत्तारूढ दलको एजेन्डालाई सहयोग गरेको आरोप लगाउने गरेका छन् ।
प्रदर्शनका क्रममा केही टेलिभिजन पत्रकारले आफ्नो संस्थाको लोगोसमेत लुकाएर रिपोर्टिङ गरेको बताइएको छ । प्रदर्शनकारी शैलेन्द्र सिंहले युवाहरूले मुख्यधारका सञ्चारमाध्यमलाई लक्षित गर्न थालेपछि पत्रकारहरूले आफ्नो परिचय खुल्ने चिह्न हटाउन थालेको दाबी गरे।
डिजिटल सञ्चारमाध्यम न्युजलन्ड्रीका प्रबन्ध सम्पादक अतुल चौरासियाले परम्परागत सञ्चारमाध्यम सरकारको विज्ञापनमा अत्यधिक निर्भर भएकाले उनीहरूको स्वतन्त्रता कमजोर भएको टिप्पणी गरे । उनका अनुसार विज्ञापन नीतिलाई प्रभावको माध्यम बनाउँदा स्वतन्त्र पत्रकारिताका लागि आवश्यक वातावरण खुम्चिँदै गएको छ ।
रवीश कुमारले भने सबै मुख्यधारका सञ्चारमाध्यमलाई एउटै दृष्टिले हेर्न नहुने बताउँदै सरकारको आलोचना गर्ने स्वतन्त्र पत्रकार र वैकल्पिक सञ्चारमाध्यमले अझ बढी दबाब, छापा, राष्ट्रविरोधी आरोप र जेल सजायको जोखिम बेहोर्दै आएको उल्लेख गरे । उनका अनुसार पछिल्लो जनआक्रोशले केही टेलिभिजन नेटवर्क लोकतान्त्रिक मूल्यका लागि चुनौती बनेको भन्ने धारणा अझ बलियो बनाएको छ ।
टिप्पणीहरू: