सोमबार, ०८ पुस २०८१

दशैं अघि काठमाडौंमा मेलम्चीको पानी


काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले दशैं अघि नै काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने बताएका छन् । आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको उनको भनाई थियो । 

राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अहिले बन्द गरिएको मेलम्चीको  खानेपानी असोजको पहिलो सातादेखि काठमाडौँवासीलाई उपलब्ध गराउने जानकारी दिए । 

मौसममा सुधार आउने वित्तिकै सो आयोजनाको सुरुङमा पानी पठाइने उनको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराइएको उनले बताउनुभयो । 

मेलम्ची खानेपानी आयोजनाको बाँधस्थललाई सुरक्षित बनाइ नियमित रुपमा खानेपानी उपलब्ध गराउन सरकारले आवश्यक कार्यक्रम अगाडि बढाइएको उनले जानकारी दिए । तराई–मधेशमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराइएको भए पनि पछिल्ला दिनमा पानीको स्रोत सुकेका कारण केही समस्या पैदा भएको उनको भनाइ छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ