सोमबार, २५ चैत २०८१

शिक्षक महासंघद्वारा शैक्षिक हडतालको घोषणा, एसईईको उत्तर पुस्तिका परीक्षण प्रभावित


काठमाडौं । नेपाल शिक्षक महासंघले आम शैक्षिक हडतालकाे घोषणा गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेकाे महासंघले भाेलिदेखि शैक्षिक हडतालकाे घोषणा गरेकाे हाे ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आइतबार विज्ञप्ति जारी गर्दै देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरेका छन् ।

उनीहरूले शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउन शैक्षिक हडतालको घोषणा गरिएको उल्लेख गरेका छन् ।

महासंघले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन भएकाे बताएकाे छ । 

‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो । यो आन्दोलनलाइ अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक-कर्मचारी साथीहरुलाई आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएकाे छ ।

महासंघले आन्दोलनकाे अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन आग्रह गरेकाे छ । शिक्षक आन्दोलनले एसईई परीक्षाको उत्तर पुस्तिका परीक्षणकाे काम प्रभावित भएको छ ।

शिक्षक महासङ्घकाे नेतृत्वमा शिक्षकहरू माघ २० गतेबाट निरन्तर आन्दोलनमा छन् । यसैक्रममा चैत्र २० गतेबाट काठमाडौमां शैक्षिक सडक आन्दोलन चलिरहेको छ । 



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ