सोमबार, २५ चैत २०८१

ऐतिहासिक सम्पदाको संरक्षणमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी छ: राष्ट्रपति


पाटन (ललितपुर) । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् ।

“पाटन दरबार क्षेत्रमा पुनःनिर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन तथा शिलापत्र अनावरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए ।

“भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पूर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्णस्थलको संरक्षण र संवर्द्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो”, राष्ट्रपति पौडेलले भने ।

उनले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको बरदानका रुपमा कैयौं रमणीयस्थल रहेको उल्लेख गर्दै अनगिन्ति मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थल नेपालीको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताए ।

राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा भएको उल्लेख गर्दै स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको बताए ।

देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले गोरखा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पूर्ववत्स्वरूप र संरचनामै पुनःनिर्माण तथा जीर्णोद्वार चुनौतीपूर्ण हुँदाहुँदै मन्दिर पुनःनिर्माणले पाएको सार्थकताले यहाँको शोभा र सौन्दर्य बढाएको उल्लेख गरे ।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सम्पदा, संस्कृति संरक्षणमा ललितपुरले गरेको चुनौतीपूर्ण कामको प्रशंसा गर्दै गौरव गर्न लायक सम्पदाको संरक्षण र संवर्द्धनमा उत्कृष्ट काम गरेको धारणा राखे ।

उनले पुरातात्विक संरचनामा कुनै पनि सम्झौता गरी इतिहासलाई कायम राख्दै १० वर्षको अन्तरालमा यो सम्पदा पुनःनिर्माणमा जापानको सहयोग र स्थानीयको समर्पण महत्वपूर्ण रहेको बताए ।

उनले नेपालको विविधतापूर्ण संस्कृति र प्रकृतिलाई जोगाउनु हामी सबैको कर्तव्य भएको बताए । उनले यसलाई प्राथमिकता दिएर विश्वसामु परिचित गराउँदै नेपाललाई खुला सङ्ग्रहालयका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ