- असार ०७, २०८०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले गत शुक्रबार ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दलीय आधारमा उनले आफ्नो धारणा राखेका हुन् ।
“यो थाकेको सरकारले जाँगर नचलाइ ल्याएको पूरानै कार्यक्रमको सूची हो, बजेटको सिलसिलेवार मिलेको छैन, पर्यटनलाई भौतिक पूर्वाधारमा लगेर जोडिएको छ, कृषिलाई व्यापारसँग जोडिएको छ, नीति तथा कार्यक्रममा परराष्ट्र र अर्थ मन्त्रालयबीच पनि समन्वय देखिँदैन ।” उनले भने । सरकार गठनको क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमतिमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने भनिए पनि व्यवहारमा शून्य देखिएको उनको भनाइ छ ।
कांग्रेस र एमालेले संविधान संशोधन गर्ने सहमति गरेपनि सरकार गठन भएको १० महिनासम्म संशोधनको विषय बाहिर ल्याउन नसकेको उनले बताए ।
नेता वाग्लेले नीति तथा कार्यक्रममा समावेश उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदनको व्यावहारिक रूपमा कार्यान्वयन गरेको खण्डमा आफ्नो पार्टीले समर्थन गर्ने प्रतिबद्धता जनाए । आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवम् लगानी अभिवृद्धि विधेयकमा आफ्नो पार्टीले सरकारलाई सहयोग गरेको प्रसङ्ग उल्लेख गर्दै नीति तथा कार्यक्रममा भौतिक परियोजनाको पुनःप्राथमिकीकरण गर्ने विषय सकारात्मक भएको टिप्पणी गरे ।
टिप्पणीहरू: