बुधबार, ०९ पुस २०८२

सुरेन्द्र पाण्डे: अंकमा हारे, नीतिमा जिते !


काठमाडौँ। मध्य बर्खा। गाउँघरमा मानो रोपेर मुरी उब्जाउने याम। तर, काठमाडौँवासीलाई खास सरोकार थिएन। हिउँद होस् या बर्खा। काठमाडौँवासीका जीवनशैलीमा खास फरक देखिँदैन। लाउने लुगा मात्रै हो फरक। हिउँदा बाक्लो लाउँछन्। बर्खामा पातलो। जीवन चलाउनका लागि किनेर खाने र बेचेर खानेबीच एक खालको तादम्यता छ।

मध्य असारमा तराई र असारको अन्तिममा पहाडतिर रोपाइँ उत्सव भए पनि काठमाडौँवासीलाई त्यो उत्सवले छुँदैन। धेरै वर्ष भो हिलो, कुलो, रोपाइँजस्ता कुरा सहरवासीले फोटो र भिडियोमै हेरेर चित्त बुझाउन थालेको।

२०७१ असार १९ देखि २५ सम्म नेकपा एमाले पार्टीका लागि एकखालको उत्सव थियो काठमाडौँमा। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि मुलुकभरका प्रतिनिधि काठमाडौँमा जम्मा भएका थिए, नवौँ महाधिवेशनका लागि।

महाधिवेशनस्थल भृकुटीमण्डप भएकाले वरपरका सटरहरु चलायमान देखिन्थे। चिया, चुरोट बिक्री गर्ने दोकानहरु एमाले कार्यकर्ताले भरिभराउ थियो। पद्मोदय मोडदेखि राष्ट्रिय सभागृहसम्म सवारी साधन निषेध भएकाले बीच सडकमै मान्छेहरुको मार्चपास चलेको थियो।

मध्यान्ह १२ बज्नै लागेको थियो सूर्यमणी गौतम (तत्कालीन नेपाल पत्रकार महासंघका कोषाध्यक्ष) र म महाधिवेशनको चहल पहल हेर्दै हिँड्दै थियौँ। सडकपेटीमा सुरेन्द्र पाण्डे देखिए। सूर्यमणी गौतम अगाडी पुगे। परिचय दिए, ‘म सूर्यमणी गौतम, पत्रकार महासंघको कोषाध्यक्ष।’ मैले पनि त्यस्तै गरेँ, ‘म सचिव’ भन्दै हात मिलाएँ। त्यो केबल औपचारिकताका लागि थियो। त्यसपछि उनी भोट माग्न हिँडे। हामी रमिता हेर्न।

केपी शर्मा ओली र माधवकुमार नेपाल अध्यक्षमा प्रतिस्पर्धा गरेको उक्त महाधिवेशनमा पाण्डे महासचिवका उम्मेदवार थिए। अध्यक्षमा ओली विजयी भए। महासचिवमा पाण्डे ईश्वर पोखरेलसँग ६ मतले पराजित भए। त्यसपछि एमालेले धेरै उतारचढाव झेल्यो। तत्कालीन नेकपा माओवादी र एमालेबीच एकीकरण भयो। नेकपा बन्यो।

निर्वाचनमा दुई तिहाई सिटमा नेकपाले जितेपछि सहमतिमै प्रधानमन्त्री बने ओली। ओली प्रधानमन्त्रीको कुर्सीमा बसिरहँदा पार्टीभित्र भने कम्युनिष्ट चरित्र (मिल्न नसक्ने) देखिन थाल्यो। अन्तत: साँढे दुई वर्षपछि फेरि पुरानै अवस्थामा फर्किए। एमाले र माओवादी छुट्टाछुट्टै पार्टी बन्यो।

त्यही किचलोको असर नेकपा एमालेमा बाँकी नै थियो। तत्कालीन प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनविरुद्ध प्रचण्डसँग लागेर सरकारविरुद्ध आन्दोलन गरेको भन्दै कर्के आँखाले हेरिरहे माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त, गोकर्ण विष्टलगायत १० जनालाई।

अन्तत: माधव नेपालले ‘एकीकृत समाजवादी’ नामको पार्टी खोले। रावल, पाण्डे, पन्त, भट्टराईलगायत कोही पनि नेपालको पार्टीमा गएनन्। नेपाल पक्षमा रहेका १० जना ओलीसँग सम्झौता गरेर एमालेमै बसे। जसलाई अहिले पनि दश बुँदे भनेर चिनिन्छ।

तिनै दश बुँदेमध्ये पन्त एघारौं महाधिवेशनमा ओली प्यानलबाट उपाध्यक्षमा निर्वाचित भए। गोकर्ण विष्ट र योगेश भट्टराई ओली इतरबाट उठेर उपाध्यक्ष र उपमहासचिव भए। सुरेन्द्र पाण्डे ईश्वर पोखरेल समूहबाट महासचिवको उम्मेदवार बने तर, प्रतिनिधिले केन्द्रीय सदस्यसमेत पत्याएनन्।

चुनावमा हारजित हुनु स्वभाविक मानिन्छ। तर, सुरेन्द्र पाण्डे एमालेमा केन्द्रीय सदस्यसमेत हुन अयोग्य कसरी भए? एमालेभित्रैका एकथरी मान्छे अझै बहस गरिरहेका छन्। एमालेमा दुईथरी मान्छे छन्, एकथरी जसले पाण्डेलाई केन्द्रीय सदस्यको समेत बाटो बन्द गरिदिएकोमा ‘आहा! क्या मज्जा भो’ भनिरहेका छन्। ‘क्या मज्जा भाे भन्नेहरु’ ठिक कि ‘नमज्जा भो’ भन्नेहरु? परिणाम पछि देखिएला। अहिलेलाई यत्ति भनौँ एमालेमा खुम्चँदो लोकतान्त्रिक प्रक्रियालाई पाण्डे-पोखरेलले फराकिलो बनाइदिएका पक्कै हुन्।

पाण्डेले पार्टी नीतिका विषयमा दिने अभिव्यक्ति, समग्रमा अर्थतन्त्रका विषयमा गर्ने टिप्पणी, विभिन्न जर्नलहरुमा प्रकाशित उनका लेख पढेर एमालेबाहेकले समेत ‘राम्रो मान्छे’ भनेर टिप्पणी गर्ने गर्छन्।

मेरो दास्रो भेट नवौं महाधिवेशनको ७ वर्षपछि उनकै निवासमा भएको थियो। राजधानी दैनिकका लागि अन्तर्वार्ता लिन सहकर्मी रामसुदन तिमल्सेनासँग निवासमै पुगेका थियौँ। अन्तर्वार्ताबाहेक थप कुराकानी भएन।

धादिङमा जन्मिएका भएपनि सुरेन्द्र पाण्डेको धादिङेहरुसँग खास सम्बन्ध थिएन। उनका सहोदर दाजु राजेन्द्र पाण्डे चाहीँ एक समय धादिङे कम्युनिष्टका लागि ‘भगवान’ सहर थिए। २०४३ देखि ०४६ सम्म सिंगो धादिङवासी कम्युनिष्टका लागि राजेन्द्र पाण्डे ३० को दशकका बीपी कोइराला, ०४८ सालका मदन भण्डारी र २०६२/०६३ सालका पुष्पकमल दाहाल प्रचण्डभन्दा प्रिय थिए। राजेन्द्र पाण्डेलाई एक झल्को हेर्नका लागि दिनभरिको मेला छाडेर हिँड्थे गाउँका मान्छे।

२०४३ सालमा भएको जनपक्षीय निर्वाचनमा धादिङबाट उम्मेदवार बनेका थिए राजेन्द्र पाण्डे, बुद्धिमान तामाङ र योगेन्द्र सिंह थापा। थापा र तामाङ पञ्चायत पक्षधर थिए भने पाण्डे जनपक्षीय उम्मेदवार। चुनाव प्रचारप्रसारको दायरा असाध्यै साँघुरो थियो। ठूला ढुंगामा इनामेलले लेख्ने र सामान्य पोष्टर टाँस्नेबाहेक अरु विकल्प थिएन। रेडियो सीमितको घरमा मात्रै हुन्थ्यो। त्यही पनि एकपाखे समाचार भन्थ्यो।

तत्कालीन सरकारी भाषामा तामाङ र थापाको तुलनामा पाण्डेको चुनावी प्रचार कमजोर थियो तर, गाउँको थिती फरक थियो। सञ्चारका साधन केही नहुँदा पनि पाण्डेलाई भोट हाल्नुपर्छ भन्ने चेत खान्दानी किसानदेखि हलि गोठालासम्ममा पुगेको थियो। त्यही कारण हुनसक्छ पाण्डेले भन्दा तामाङले जम्मा एक हजार भोट बढी ल्याएर जिते। तामाङले जितेको खबर रेडियो नेपालबाट सुनिरहेका मान्छेहरु चौतारामा बसेर हाकाहाकी भन्थे, ‘तामाङलाई पञ्चायतले धाँदली गरेर जिताएको हो।’

०४६ सालमा बहुदलीय प्रजातन्त्र पुर्नस्थापना भएपछि गाउँमा एक खालको उत्सव आयो। आफू मेलामा गएन भने खेतालाले थोरै काम गर्लान् भनेर खेतालाभन्दा पहिल्यै खेतबारीमा पुग्ने। खेतालाले अल्छी नगरुन् भनेर खेतालाले भन्दा धेरै काम गर्नेहरु पनि राजेन्द्र पाण्डेको भाषण सुन्न भनेपछि मेला छाडेर हिँड्थे।

धादिङका गाउँगाउँमा हुने आमसभाका मुख्यवक्ता हुन्थे राजेन्द्र पाण्डे र गंगालाल तुलाधर। भर्खर जेलबाट छुटेका पाण्डे र तुलाधरको भाषण सुन्न कम्युनिष्ट मात्रै होइन, कांग्रेसहरुसमेत पुग्थे। सांस्कृतिक कार्यक्रमसहित हुने लामो भाषण सुन्न सर्वसाधारण घण्टाैँ कुरेर बस्थे। फ्रेन्टकट दाह्री, बाक्लो फ्रेम भएको चश्मा, ओजस्वी बाँणी गज्जब व्यक्तित्व देखिन्थे राजेन्द्र पाण्डे।

‘राजेन्द्र पाण्डेभन्दा पनि ठूलो नेता छन् रे यिनको भाइ सुरेन्द्र पाण्डे’, राजेन्द्र पाण्डेको प्रसंग आउँदा गाउँमा जम्मा भएका बुढापाकाहरु कुरा गर्थे। हामीलाई को कति ठूलो नेतासँग खास सरोकार थिएन। झण्डा समातेर नारा लगाउँदै हिँड्न मज्जा आउँथ्यो। हामी जान्थ्यौँ त केबल रमाइलोका लागि।

पछि थाहा भयो सुरेन्द्र पाण्डे २०३६ सालदेखि नै भूमिगत रुपमा पार्टीको काममा काठमाडौँमा सक्रिय रहेछन्। ०४३ सालमा हामी राजेन्द्र पाण्डेको चुनाव चिन्ह हात्ती हेरेर रमाइरहेको बेला सुरेन्द्र पाण्डेका काठमाडौँमा बसेर जनपक्षीय उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गरिरहेका रहेछन्।

प्रसंग ११औँ महाधिवेशनकै। मुलुकभरका निर्वाचित प्रतिनिधि जम्मा भएर गरिएको महाधिवेशनको वैधानिकताबारे कसैले प्रश्न उठाएको छैन। प्रश्न उठाउने ठाउँ पनि छैन। निर्वाचन विधिवत र वैज्ञानिक ढंगमा भएको छ। महासचिव पदमा पाण्डेले भन्दा २२९ बढी मत ल्याएर शंकर पोखरेल निर्वाचित भइरहँदा पनि पोखरेलले अंकमा मात्रै जितेका हुन्, सैद्धान्तिक जित पाण्डेकै हो भनिरहेका छन्।

पाण्डेले पार्टीभित्र खरो रुपले रुपान्तरणको मुद्दा उठाउँदा संस्थापन पक्ष खुसी थिएन। सकेसम्मै चुनाव नगर्ने प्रयास पटक पटक भयो। तर, ईश्वर पोखरेल, पाण्डेलगायतको ‘हामी हार्न तयार छौं’ भन्ने अभिव्यक्तिकै कारण संस्थापन पक्ष लोकतान्त्रिक प्रणाली अवलम्बन गर्न बाध्य भयो। एकथरी बुर्जुवाहरुले भन्ने गरेका छन्, ‘लोकतन्त्रको खराब पाटो भनेकै ५१ जना मुर्खहरुले ४९ जना विद्वानहरुलाई हराउन पनि सक्छन्।’

ढिलै किन नहोस्, एमालेमा सुरु भएको लोकतान्त्रिक प्रणाली अब रोकिने छैन। पार्टीलाई गतिशील बनाउन प्रेरित गर्नेछ। फेरि पनि मीनबहादुर गुरुङ वा अन्य कुनै घरानियाको लोभ लालचमा पार्टी नेतृत्व पर्न सक्छ। आगामी दिनमा नेतृत्वले गरेका त्यस्ता अक्षम्य गल्तीका विरुद्ध बोल्नेहरु केबल दुई जना महिला मात्रै हुने छैनन्। खराबलाई ‘खराबै हो’ भन्न सक्नेहरु मजबुत हुँदै जानेछन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ