- असार ०६, २०८०
काठमाडौं । अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरूमार्फत पछिल्लो १० महिनामा मुलुकबाट एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार (जेठ २८ गते) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उक्त तथ्यांक उल्लेख छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) मा अध्ययन प्रयोजनका लागि उक्त रकम बाहिरिएको हो । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ अर्ब १० करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्ष २०७९÷८० को १० महिनामा अध्ययनका लागि विदेश जाने नेपालीमार्फत एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको १० महिनामा भ्रमण प्रयोजनमा कुल एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ बाहिरिएको छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा, अर्थात् ६० प्रतिशतभन्दा बढी, विद्यार्थीले अध्ययनका लागि लगेको रकमले ओगटेको छ ।
समग्रमा, गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष भ्रमण व्यय १७.९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको १० महिनामा भ्रमण प्रयोजनमा कुल एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो । यसले विदेश अध्ययनसँगै अन्य भ्रमणमा पनि नेपालीको खर्च बढ्दै गएको देखाउँछ ।
टिप्पणीहरू: