- असार ०६, २०८०
काठमाडाैँ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको बचाउमा उत्रिएका छन्।
आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा नेता सिटौलाले कुनै कार्यालयको एक कर्मचारीले गल्ती गर्दा प्रमुखको राजीनामा माग्न उचित नहुने भन्दै गृहमन्त्रीकाे बचाउमा उत्रिएका हुन्।
उनले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने जिकिर गरे।
‘कुनै पनि अड्डा अथवा कार्यालयको कुनै एक कर्मचारीले गल्ती गर्छन् भने ऊ जवाफदेही हुन्छ, जिम्मेवार हुन्छ, त्यसो हो भने’, सिटौलाले भने, ‘त्यस्तो अवस्थामा कार्यालयकै प्रमुखले राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुराचाहिँ हामीले उठायौं भने राज्य व्यवस्था चल्दैन यसरी।’
पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलाले संविधान जारी भएको १० वर्ष पूरा भएको सन्दर्भमा राज्यका सबै प्रणालीको समीक्षासँगै सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)को सहमतिमा मात्र संविधान संशोधन गर्न सहज हुने वास्तविकता प्रस्तुत गर्दै उनले संविधान संशोधनका निम्ति प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सरकारको पनि सहमति आवश्यक भएको विचार व्यक्त गरे।
जनतामा नैराश्यता बढ्न नदिन सुशासन, सेवा प्रवाहका साथै देशको विकास– निर्माणलाई केन्द्रमा राखेर राज्य संयन्त्रले इमानदारीपूर्वक काम गर्नुपर्नेमा सांसद सिटौलाले जोड दिए।
देश र जनतालाई प्राथमिकतामा राखेर राजनीतिक दलहरुले आफूलाई आन्तारिक लोकतन्त्रसहित व्यवस्थित गर्नुपर्ने सुझाव दिँदै सांसद सिटौलाले लोकतन्त्रमा विपक्षीका आवाज सबैले सुन्नुपर्ने बताए।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बताउन सबै राजनीतिक दलका नेताले जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने विचार उनले व्यक्त गरे।
सांसद सिटौलाले जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसद्मा छलफल हुनुपर्ने धारणा व्यक्त गरे। साथै उनले राजसंस्था पुनःस्थापना नहुने बताए।
टिप्पणीहरू: