- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेका नेताहरूलाई माओवादीको पछि नलाग्न आग्रह गरेका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) १२ औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को सन्दर्भमा बुधबार काठमाडौंमा आयोजना गरिने राजनीतिक परिसंवाद कार्यक्रम बोल्दै महासचिव पाेखरेलले माओवादीले उपराष्ट्रपति भएको नन्दबहादुर पुनलाई राजनीतिमा ल्याएको सन्दर्भमा माओवादी यो व्यवस्था प्रति विश्वास गर्ने पार्टी नै नभएको दाबी गरे ।
नेपालको राजनीतिमा नेकपा एमाले अब्बल पार्टी भएको भन्दै उनले एमाले जनताको सबैभन्दा रोजाइको पार्टी भएको दावी गरे । नेकपा एमाले जब सबै खालका प्रहार तोडेर अघि बढ्छ तब पार्टी भित्रै अनेक खालका समस्याहरू आउने गरेका उनकाे भनाई थियाे । एमाले बलियो हुँदै गएपछि त्यसलाई कमजोर पार्न पार्टी बाहिर र भित्रका शक्तिहरू लाग्ने पोखरेलको धारणा छ ।
पार्टीको मुख्य नेतृत्वलाई कमजोर बनाउन २ कार्यकाल र ७० वर्षको उमेर हदको चर्चा गरिएको भन्दै उनले आपत्ति जनाए एमालेका नेताहरू कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ भन्ने कुरामा एमाले स्पष्ट रहेको उनकाे भनाई थियाे । ७० वर्षको उमेर हद हटाउन जबजको मूल मर्ममा कहाँनेर असर पर्यो भन्दै उनले प्रश्न गरे । पार्टीको ११ औँ महाधिवेशनमा नेतृत्वको लागि प्रतिस्पर्धा गर्न सबै नेताहरूलाई खुल्ला रहेको पनि उनले बताए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा पठाउनु अघि पार्टी भित्र पर्याप्त छलफल र बहस भएको उनकाे भनाई थियाे । दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पनै गर्न नसकिने उनले बताए ।
ट्रेड युनियन आन्दोलनलाई राजनीतिबाट अलग राख्न नसकिने उनकाे भनाई थियाे । श्रमजीवी वर्गको राजनीतिक पहुँच स्थापनाका लागि ट्रेड युनियन आन्दाेलनलाई राजनीतिबाट अलग राख्न नमिल्ने बताए । ‘ट्रेड युनियन आन्दोलन राजनीतिक प्रश्नबाट अलग भयो भने श्रमजीवीको अधिकार स्थापित गर्न गाह्रो पर्दछ भन्ने बुझ्नु पर्दछ’, उनले भने ।
नेपालमा पर्याप्त रोजगारीको अवसर हुँदा हुँदै पनि धेरै युवाहरू विदेश गएका भन्दै उनले चिन्ता व्यक्त गरे । विगतको लाहुरे संस्कृतिको निरन्तरतास्वरुप आजका युवाको पनि विदेश प्रतिको आकर्षण रहेको पोखरेलकाे भनाई थियाे ।
नेपालको कृषि क्षेत्र व्यावसायिक नहुँदा पनि विदेश पलायन बढेको उनकाे भनाई थियाे। ‘पढे लेखेको युवा पुस्ता कृषि कर्मबाट अलग भयो, यसले पढे लेखेका युवामा रोजगारीको समस्या देखा पर्यो, यो समस्याले गर्दा विदेश जाने प्रवृत्ति बढेको छ’, उनले भने ।
टिप्पणीहरू: