- असार ०७, २०८०
विराटनगर, २ पुस । प्रतिनिधि सभाको लेखा समिति संयोजक ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङमा रहेको उमागौरी सहकारीमा भएको रकम अपचलनका विषयमा उनीविरुद्ध पक्राउ पूुर्जी जारी भएको हो ।
जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने अदालती पक्राउ पुर्जी जारी भएको छ । सो सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको भन्दै अभियाेग पत्र दायर भएको छ । उनीहरूलाई सो बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी अभियोग पत्रमा छ ।
मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहित २५ जना विरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
सांसद पत्नी कोइराला उमागौरी सहकारीको पूर्व सञ्चालक हुन् । सहकारी सङ्कटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर उनी सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालोसूचीमा छन् । उनले कालोसूची हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दा विचाराधीन छ ।
सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । उजुरीका लागि सार्वजनिक आह्वान पनि भएको थियो । सो आह्वानपछि २० जना ऋणीले आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका छन् ।
टिप्पणीहरू: