- असार ०७, २०८०
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो ।
उक्त अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिए ।
गत चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो ।
उनीविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना ४ जेठ २०८१ को हो । अहिराजलले आफ्नो कोठामा कोही नभएको बेलामा पटकपटक बलात्कार गरेको आरोप । उक्त घटनापछि पनि कसैलाई भनेमा मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ ।
बलात्कारको घटना भएको केही समयपछि पीडित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन् । पीडितले जाहेरी दर्ता गर्न खोजेपनि प्रहरीले नगरेको आरोप छ । पटकपटक प्रयास गर्दा पनि दर्ता गर्न नमानेपछि पीडित युवती जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेकी थिइन् ।
उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा कात्तिक २८ गते जाहेरी निवेदन दिएकी थिइन् ।
पछि सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त जाहेरी दर्ता गराउन परिसरलाई पत्राचार गरेको थियो ।
कार्यालयले कात्तिक ३० गते परिसरमा पत्राचार गरेको थियो । सरकारी वकिलले कात्तिकमा पत्राचार गरेपनि माघमा उक्त जाहेरी दर्ता गरी प्रक्रिया अघि बढाएको थियो ।
अहिराज तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए । उनी पत्रकार एवं कानुन व्यवसायी पनि हुन् ।
टिप्पणीहरू: