सोमबार, ०२ चैत २०८२

कपडा जन्य फोहोर व्यवस्थापनमार्फत आयआर्जन प्रवद्धन


काठमाडौं । फोहोर व्यवस्थापन क्षेत्रमा कार्यरत सफाइकर्मीहरुको सशक्तीकरण र आयआर्जन प्रवद्र्धनका लागि संयुक्त सफाइ जागरण (ससजा) काठमाडौँले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सोही क्रममा काठमाडौँ महानगरपालिका वडा नं. १२ को समन्वय तथा इन्टरनेशनल एलायन्स अफ वेस्ट पिकर्सको आर्थिक सहयोगमा कपडा जन्य फोहोरको पुनः प्रयोग सम्बन्धी ३० दिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ ।

परियोजना अन्तर्गत पहिलो चरणमा २०८२ पुस २८ गतेदेखि माघ १६ गतेसम्म जिन्स तथा टुक्रा कपडाको पुनः प्रयोग गरी व्याग, पर्स तथा झोला निर्माण सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । त्यसैगरी दोस्रो चरणमा २०८२ फागुन ४ गतेदेखि २७ गतेसम्म प्रयोग गरिएका सारीको पुनः प्रयोगमार्फत व्याग तथा पर्स निर्माण सम्बन्धी तालिम प्रदान गरिएको आयोजकले जनाएको छ ।

तालिम समापन कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. १२ का वडा सदस्य नानी हेरा डंगोलले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे।  उनले यस्ता कार्यक्रमले वातावरण संरक्षण, दिगो फोहोर व्यवस्थापन तथा न्यून आय भएका सफाई कर्मीहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु-याउने बताउँदै आगामी दिनमा उत्पादनको बजारीकरण तथा विस्तारमा वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संयुक्त सफाइ जागरणकी अध्यक्ष शान्ति तामाङले तालिमबाट तयार गरिएका सामग्रीको बिक्री–वितरण तथा बजारीकरणमा महानगरपालिकाबाट सहयोग आवश्यक रहेको बताए । यसैगरी ससजाका प्राविधिक सल्लाहकार निर्मल सिग्देलले कपडा जन्य फोहोरको पुनः प्रयोगले फोहोर व्यवस्थापनमा संलग्न मजदुरहरूको आयस्रोत विविधीकरण गर्नुका साथै वातावरण प्रदूषण न्यूनीकरणमा समेत योगदान पु-याउने उल्लेख गर्नुभयो । उनले भविष्यमा साझा उत्पादन स्थल स्थापना गरी नियमित उत्पादन र बजार विस्तारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

परियोजनाका एशिया क्षेत्रीय संयोजक जानु डंगोलले कार्यक्रम प्रभावकारी भएको बताउँदै कपडा जन्य फोहोरको उचित व्यवस्थापन र सफाई कर्मीहरूको आर्थिक उन्नतिमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । कार्यक्रमका अध्यक्ष शान्ति तामाङले तालिमबाट प्राप्त सीपलाई व्यावसायिक रूपमा उपयोग गर्दै सहभागीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै कार्यक्रम समापन गरे ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ