बुधबार, २४ मंसिर २०८२

प्रधानमन्त्रीको विद्यार्थीलाई आग्रह- म आश्वासन दिन्नँ, आफ्नो स्थान आफैं बनाउनुस्


धुलिखेल। प्रधानमन्त्री सुशीला कार्कीले विद्यार्थीसँग आफ्नो स्थान आफैं बनाउन आग्रह गरेकी छिन्।

काठमाडौं विश्वविद्यालयको ३१औँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारका तर्फबाट विद्यार्थीहरूलाई दिने धेरै आश्वासन नभएको भन्दै केवल आग्रह मात्रै गरिन्।

‘तपाईं आफैँ अगाडि आउनुहोस्। आफ्नो स्थान आफैँ बनाउनुहोस्। आज राष्ट्रले तपाईंहरूसँग ठूलो आशा राखेको छ। यो राष्ट्र तपाईं युवाले नै सम्हाल्नुहोस्। सबैको ऐक्यबद्ध प्रयास भएमा समुन्नत नेपाल निर्माण गर्न धेरै समय लाग्ने छैन,’ उनले भनिन्।

युवाहरूको बदलिँदो सोचअनुरूप नयाँ राजनीतिक परिस्थितिमा आफू प्रधानमन्त्री बनेको उल्लेख गर्दै उनले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकांक्षा जेनजी आन्दोलनबाट थप मुखरित भएको बताइन्। ‘त्यसको जग बसाल्ने अभिभारा निभाउनमा हामी सरकारको तर्फबाट प्रयास गरिरहेका छौं,’ प्रधानमन्त्रीले भनिन्।

हाल विश्वभर नै उच्च शिक्षामा अकल्पनीय परिवर्तनहरु आइरहेको भन्दै आर्टिफिसियल इन्टेलिजेन्स र भर्चुअल रियालिटी प्रविधिको विकास, बसाइसराइ तथा वैश्विक भूराजनीतिले यी परिवर्तनलाई सम्भव बनाइरहेका प्रसंग उठाउँदै नेपालको उच्च शिक्षा क्षेत्रमा पनि यी परिवर्तनका आकांक्षा देखिनु स्वाभाविक भएको जिकिर गरिन्। तर उच्च शिक्षामा नेपालको लगानी न्यून नै रहँदै आएको उनको भनाई थियो।

‘अब त्यो लगानी व्यापक मात्रामा नबढाई ती आकांक्षा पूरा गर्न सम्भव छैन। लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता हो’, उनले भनिन्। शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेरै सरकारले केही ठोस काम सुरु गरेको प्रधानमन्त्री कार्कीको भनाई थियो।

‘पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ। शिक्षामन्त्री महावीर पुनज्यूले शिक्षाविद्, विश्वविद्यालयका उपकुलपतिलगायतका उच्च नेतृत्व र अन्य सरोकारवालाहरूसँग यस विषयमा गम्भीर परामर्श र गृहकार्य गरिरहनुभएको छ’, उनले भनिन्, ‘ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ।’ यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य विश्वास लिएको प्रधानमन्त्री कार्कीले बताइन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ