बिहिबार, ३० असोज २०८२

‘बालेन’लाई ‘केपी ओली’ हुनबाट जोगाउ


काठमाडाैँ। एउटा समय यस्तो पनि थियो, प्रधानमन्त्रीको कुर्सीमा बसेका केपी शर्मा ओली सम्पादकहरुलाई बालुवाटार बोलाउँथे र भन्थे- ‘तपाईंहरुले भाषा बिगार्नुभयो।’ पत्रकार र पत्रकारितासँग सम्बन्धित कुनै पनि कार्यक्रममा अतिथि भएर जाँदा गिद्धे प्रेसदेखि डिजिटल मिडियासम्मका बारेमा व्याख्या गर्ने ओलीको मिडियाकर्मीसँग प्रश्न हुन्थ्यो, ‘मुलुकका राष्ट्रपति, प्रधानमन्त्रीलाई किन तिमी लेखेको?’ ‘हाम्रो संस्कार तिमी होइन, तपाईं हो’ भन्दै आदरार्थी शब्द प्रयोग गर्न पटक पटक अर्ति उपदेश दिए।

विज्ञान, धर्म, संस्कृति, समाज सबैजसो विषयमा धाराप्रवाह प्रवचन दिन सक्ने ओलीले भगवान रामको जन्मकुण्डली नै उतारिदिए। हरेक विषयमा ‘कन्फिडेन्स’ का साथ बोल्न सक्नु ओलीको विषेशता हो तर, उनले भनेका कतिपय अतिरञ्जित र हावादारी कुरामा तथ्य प्रतिक्रिया जनाउनेलाई उनले राम्रो मानेनन्। आफ्ना अतिरञ्जित व्याख्याका विषयमा तथ्यसहित यस्तो होइन भन्नेलाई उनले एमाले विरोधी करार गरे।

पछिल्लो समय एमालेका नेता कार्यकर्ता यदि बोदो र भुत्ते हुनुको मुल कारण ओली नै थिए। किनकी आलोचना गर्नेहरुलाई ओलीले जहिल्यै पार्टी विरोधीको कित्तामा राखे र त्यहीअनुसार व्यवहार गरे। ओलीको दम्भ, अहंकार र घमण्डकै कारण एमाले पार्टी इतिहासमै सर्वाधिक कमजोर हुन पुग्नुका कारण पनि उनी आफैं हुन्। अरुले दिएका जायज सुझावसमेत नमान्ने ओली अहिले पनि आफूले गरेका सबथोक जायज भएको दाबी गर्छन्।

एक समय युवा पुस्ताले अत्यधिक मन पराएका, आम सर्वसाधारणले भावी नेताका रुपमा भरोसा गरेका चामत्कारिक व्यक्ति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमा पनि ओलीमा जस्तै समस्या देखिन थालेको छ। श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले चेक गरेको झोँकमा सामाजिक सञ्जाल फेसबुकमा ‘सिंहदरबार जलाइदिन्छु’ भनेर लेखेर दुई दिनपछि मेटेका बालेनका लागि अहिले त्यही आवेशमा लेखिएको शब्द निकै भारी भएर आएको छ।

मेयरमा निर्वाचित भएपछि युवा नेताको पहिचान बनाएका बालेनले फेसबुकमा प्राय उरन्ठेउला टिप्पणी लेखेर असन्तुष्ट जनमतलाई प्रभावित पारिरहे। उनले ‘मेरा समर्थकहरु जिम्मेवार, विवेकवानहरु पनि छन्’ भन्ने बुझेनन्। जसरी ओली आलोचना गर्नेहरुलाई एमाले विरोधी ठान्थे, उसैगरी आफ्नो पोष्ट पढेर उत्तेजक हुनेहरुलाई बालेनले खास ठाने।

कुनैबेला ‘बालेनबाहेकले यो देश बनाउँदैनन्’ भन्नेहरु तीन वर्ष नबित्दै भन्न थालेका छन्, ‘बालेनजस्ता सन्की मान्छेहरु सत्तामा आए भने देश तहसनहस हुन पनि सक्छ।’ अहिल्यै उनका बारेमा यस किसिमका आशंका व्यक्त हुनु भनेको स्वयं बालेन मात्रै होइन, बालेनजस्तै राजनीतिमै भविष्य बनाउँछु र राजनीतिमार्फत मुलुकका लागि केही गर्छु भन्ने आम युवा पुस्ताका नेतृत्वमाथि पनि एक खालको प्रहार हो।

काठमाडौँमा मेयरमा निर्वाचित भएपछि फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्तिको सुरक्षा र सामुदायिक विद्यालय सुधार एवं गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्थापनका लागि उनको जति प्रशंसा गरे पनि हुन्छ। यति हुँदाहुँदै पनि बालेनमा देखिएको दम्भ, अहंकार र घमण्डले उनीप्रति थप सशंकित बनाएको छ।

एमाले कार्यकर्ताले त मान्दैनन्। तर, नेपालमा आजको यो कहाली लाग्दो दिन आउनुको मुल कारण ओली प्रवृत्ति नै हो भन्नेहरु धेरै छन्। ओली यति धेरै खराब हुनुको कारण उनको स्वभाव पहिलो हो भने दोस्रो उनका वरिपरि बसेर दुनो सोझ्याउन चाहनेहरुको व्यवहार। जो उनका छेउछाउमा थिए, उनीहरुले आफ्नो दुनो सोझ्याउने उद्देश्य पूरा गर्नकै लागि ओलीबाट भएको गलत कदमलाई कहिल्यै गलत भन्ने हिम्मत गरेनन् र ओली संगै सिंगो एमालेलाई थिल्थिलो बनाउन भूमिका निर्वाह गरे।

ओलीले नेतृत्वबाट विश्राम लिनुपर्ने राय पार्टीका तल्ला तहबाट समेत उठ्न थालेको छ। तर, पनि ओली भन्दैछन्, ‘म छोड्दिनँ।’ उनको यो अभिव्यक्ति पतनको दोस्रो इनिङ हो। ओली पतनको पहिलो इनिङ चितवन महाधिवेशनमै सुरु भएको थियो। जतिबेला उनका इन्द्रियले घनश्याम भुसालभन्दा दुर्गा प्रसाईंलाई पार्टीको कर्मठ योद्धा ठान्यो। भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर पार्टीको आन्तरिक लोकतन्त्र जोगाइदिएको उनको मष्तिष्कले भेउ पाएन। भुइँ तहका कार्यकर्ताको मनोभावना के छ भनेर बुझ्ने चेष्टा कहिल्यै गरेनन्, मात्रै माथि बसेर आफ्ना आदेशहरु लादिरहे। त्यसैको परिणाम थियो भदौ २४ गते सेनाको हेलिकप्टर चढेर बालुवाटारबाट भाग्नु परेको घटना।

ओलीको जस्तै शैली बालेनको हकमा पनि लागू भएको छ। जनताको बीचमा जाँदै नजाने, फेसबुकमा स्टाटस लेख्नलाई साँझै पर्नुपर्ने (त्यो पनि कहिलेकाहीँ असभ्य र उत्तेजक भाषामा) यही प्रवृत्तिले बालेनका विषयमा आशंका गर्ने र नियतमा प्रश्न गर्नेहरुलाई बल पुर्याएको छ।

संविधान संशाेधनमार्फत कार्यकारी प्रधानमन्त्रीको व्यवस्था भएमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने सोच बनाएका बालेन संविधान संशाेधनको बहस हुँदै गर्दा प्रश्नैप्रश्नको घेरामा परिसकेका छन्। सिंहदरबार जलेको करिब एक महिनापछि सिंहदरबार जोगाउन खोजेको दाबी गर्दै फेसबुकमार्फत प्रष्टीकरण दिएका बालेनलाई शंकाको आँखाले हेर्नेहरु बढ्दै गएका छन्।

लामो कपाल पालेर, सँधै सुटबुटमा हिँडेर, स्टाइलिस चस्मा लगाएर केही दिन, महिना र वर्ष चर्चामा आउन सकिन्छ। फेसबुकमा चर्को स्टाटस लेखेर भाइरल हुन पनि सकिन्छ। तर, ती कुराहरुले राजनीतिक करिअर बलियो बनाउँदैन भन्नेमा बालेन र उनका टिमलाई बोध हुन जरुरी छ।

आशा गरौं, अब बालेनले फेसबुकमा स्टाटस लेख्नका लागि साँझ आठै बजाउने छैनन्। प्रश्नहरुको उत्तर साक्षात दिनेछन्। जेनजी वा अरु कसैले आन्दोलन वा कुनै कार्यक्रम गर्दा महानगरिय प्रहरीलाई पानीको बोत्तल बोकेर मात्रै पठाउने छैनन्, घाइतेको अवस्था बुझ्न अस्पतालमा सशरीर उपस्थित हुनेछन्। राजसी ठाँटको स्टाइल परिवर्तन गर्दै जनताको सेवकका रुपमा प्रस्तुत हुनेछन्।

यदि उनमा ‘म शासक हुँ’ भन्ने भूत सवार छ भने अझै उग्र हुनेछन्। साँझ ८ बजेपछि उस्तै चर्का स्टाटस लेख्नेछन् र ‘नानीमैया दाहाल’ भाग–२ हुनबाट कसैले रोक्न सक्ने छैन।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ