सोमबार, ०८ वैशाख २०८२

प्रकाश सपुतका दुख: तीन मिनेट ओलीको प्रशंसा गरेवापत डेढ महिना गाली


काठमाडौं। जादुमयी स्वरका धनी प्रकाश सपुत अहिले प्रशंसकको सबैभन्दा धेरै गाली खाने गायकको रुपमा चिन्छिन् । दर्शक स्रोताको स्नेहकै कारण लगातार चर्चामा रहेका गायक सपुत प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेवापत यसरी फसे कि तीन मिनेटको प्रशंसाले डेढ महिना बित्दासमेत गाली खाइरहेका छन् ।

सबैभन्दा ठूलो चोट त त्यतिबेला पर्यो, जब उनकै निर्देशन रहेको महत्वाकांक्षी फिल्म ‘वसन्त’लाई दर्शकले अस्वीकार गरिदिए । अन्तरजातीय प्रेमकथामा आधारित वसन्तमा स्वयं प्रकाश र स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाह गरेका थिए । यही फिल्मको व्यापक प्रचारका लागि भन्दै अर्को चर्चित फिल्म ‘पूर्णबहादुरको सारंगी’को प्रचार प्रसारमा समेत सपुत ढिलो गरी सहभागी भएका थिए ।

उनको ट्रिक कतै पनि काम लागेन । पूर्णबहादुरको सारंगीको प्रचारमा सहभागी नभएको भनेर गाली खाएका सपुतले आफ्नै फिल्म ‘वसन्त’ रिलिज गर्दा पनि उत्तिकै गाली खाए । पछिल्लो समय उनलाई गाली गर्नेहरुमध्ये धेरैले ‘झोले’ भनेर टिप्पणी गरेका छन् । यद्यपि, उनका व्यवहारले ‘झोले’जस्ता देखिँदैनन् । तर, एकदिनको एउटा सामान्य विषयलाई प्रशंसकहरुले यसरी उचालिदिए ।

ओलीसँग कसरी जोडिएका थिए प्रकाश

पत्रकार गणेश पाण्डेले केपी ओलीमाथि लेखेको पुस्तक ‘केपी ओली सपना, संघर्ष र संकल्प’ को फागुन १९ गते राष्ट्रियसभा गृहमा सार्वजनिक गरिएको थियो । सोही कार्यक्रममा अतिथिका रुपमा पुगेका सपुतले ओलीको काफी प्रशंसा गरे ।

कार्यक्रममा उनले भनेका थिए, ‘नेपाली राजनीति क्षेत्रका यस्तो अदभुत व्यक्तिको बारेमा बनाइएको किताब । सम्माननीय प्रधानमन्त्रीज्यू बहुप्रतिभाशाली हुनुहुन्छ । उहाँको व्यक्तिगत ग्राफको चित्र हेर्दा अद्भुत लाग्छ ।’ देशको कार्यकारी प्रधानमन्त्रीका बारेमा लेखिएको पुस्तकका विषयमा बोल्न निम्त्याइएका व्यक्तिले बोल्ने लगभग यस्तै हो ।

जोसुकै व्यक्तिलाई वक्ताको रुपमा बोलाएको भए पनि त्यो दिन कसैले पनि ओलीको आलोचना गर्ने थिएन । त्यसमाथि कार्यक्रम नै उनको प्रशंसामा लेखिएको किताबको विमोचन थियो । यस अर्थमा प्रकाशले ओलीको प्रशंसा किन गरे भनेर प्रश्न गर्नु नै बेकार छ । किनकी कार्यक्रम नै ओलीको प्रशंसाका लागि थियो । ओलीबाहेक अरु कसैमाथि लेखिएको किताबसँग सम्बन्धित कार्यक्रममा पनि वक्ताहरुले बोल्ने भाषा सपुतकै जस्तो हुन्छ । यस अर्थमा उनको उछित्तो काढ्नु उचित हो भन्ने लाग्दैन ।

यति धेरै आक्रोश किन ?

सामाजिक सञ्जालमा सक्रिय हुने प्रधानमन्त्री ओली पक्कै सपुतलाई गरिएका गालीगलौजबारे अनविज्ञ छैनन् । सपुतमाथि यो गालीको वर्षा हुनुका मूल कारण सपुत होइनन् भन्नेमा उनी सचेत हुन जरुरी छ । यो गाली प्रकाश सपुतको आलोचना मात्रै नभएर स्वयं ओलीप्रतिको आक्रोश पनि हो ।

संविधान संशाेधन र सुशासनलाई प्रमुख एजेण्डा बनाएर गठन भएको सरकारले सुशासनको धज्जी उडाएको अनुभूति गरेका दर्शकरुलाई मात्रै आलोचना गर्ने निहुँ चाहिएको थियो । घानमा परे, प्रकास सपुत ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ