मङ्गलबार, २३ वैशाख २०८२

शिक्षक बन्न काठमाडौं छिरेका प्रदीप प्रहरीले कुटेपछि राजनीतिज्ञ भएका थिए


काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री प्रदीप नेपालको मंगलबार निधन भएको छ । कुनै समयका उम्दा लेखक नेपाल पछिल्लो केही वर्षदेखि राजनीति र लेखनमा निष्क्रिय थिए ।

पञ्चायतकालमा सञ्जय थापाको नामबाट लेख्ने नेपाल समकालीन लेखकको तुलनामा फरक पात्र थिए, जो समाजका विकृति र विसंगतिमाथि निर्धक्क लेख्थे । अखबारी लेखनमा विशेष पहिचान बनाएका उनका दर्जनौँ कृति प्रकाशित छन् ।

खुइते कडरिया, नओइलाउने फूल, पार्टीकी आमा, पूर्वतिर बुङ्लाका साँझहरु, देउमाइको किनारमा, मुक्ति, नन्दिता, आकाश गंगाको तीरै तीर, २१औं शताब्दीकी सुम्निमा, दुर्गा हजुरआमाको भूत, अनौठा प्रेमकथा, स्वप्निल शहर गरी उनका १३ वटा उपन्यास प्रकाशित छन् । उनका कथा, नियात्रा संग्रह पनि दर्जन हाराहारीमा प्रकाशित छन् ।

तत्कालीन भोजपुर जिल्लाको गोगने गाउँमा जन्मिएका नेपालको सपना ठूलो थिएन । उनी हाइस्कुलको शिक्षक हुन चाहन्थे । त्यही शिक्षक हुनका लागि उनी कलेज पढ्नका लागि काठमाडौं आए ।

वि.स. २०२६ सालमा कलेज पढ्न काठमाडौं आएका नेपाल त्रिचन्द्रमा भर्ना भए । उनी आइए पहिलो वर्ष पढ्दै थिए । निकै सोझा थिए । पढ्नेबाहेक दायाँबायाँ नहेर्ने । उनी कक्षामा पढ्दै थिए, दोस्रो वर्ष पढ्ने विद्यार्थीले कलेजमा आन्दोलन गरेछन् । जब कलेजमा प्रहरी पुग्यो, आन्दोलन गर्नेहरु भागे । प्रहरीले कक्षामा बसेर पढिरहेका नेपालसहितलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा लग्यो । प्रहरीले कुट्यो । गाली गर्यो अनि छाड्यो ।

स्थिति सामान्य थियो । बर्खा सकियो, हिँउद लाग्यो । जाडोको छुट्टीमा उनी घर गए भोजपुर । घर पुग्नेबित्तिकै जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टरले बोलाएर भनेछन्, ‘तिमी राजनीतिमा लागेको भन्ने जानकारी आएको छ । तिमी यहीँ बस्यौ भने मैले पक्राउ गर्नुपर्छ । तिमी काठमाडौं जाऊ ।’

आकस्मिक पक्राउको घटनालाई लिएर प्रहरीले उनलाई व्यवस्था विरोधीको दर्जामा राखिसकेको रहेछ । त्यसपछि गाउँको बसाई सहज भएन । उनी काठमाडाैं फर्किए । अनि सुरु भयो उनको राजनीतिक यात्रा ।

याे पनि पढ्नुहाेस्... पूर्वमन्त्री प्रदीप नेपालको निधन


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ