शुक्रबार, ०५ मंसिर २०८२

सिमरा घटनामा संयमता अपनाउन प्रचण्डकाे अपिल


काठमाडाैं ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरा क्षेत्रमा भइरहेको तनाव र हिंसात्मक घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

बिहीबार फेसबुकमा लेख्दै प्रचण्डले सबै पक्षलाई शान्त र संयमित रहन आग्रह गरेका छन्। ‘बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले लेखेका छन्, ‘स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु।’

लोकतन्त्रमा मतभिन्नता प्राकृतिक भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा बदल्नु लोकतान्त्रिक संस्कृतिविरुद्धको कदम हो भनेका छन् । ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन,’ प्रचण्डले भनेका छन्। 

यस्ताे छ उनकाे स्टाटस

बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ। स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु।

लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन। त्यसैले राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै  राजनीतिक दल र दलका नेताहरूलाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा-सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु । घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गर्दछु।

साथै, स्थानीय पार्टी समितिहरूलाई परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन गर्दछु।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ