शुक्रबार, ०५ वैशाख २०८२

आन्दोलनरत सिनियर अहेब र अनमीको माग यथासिघ्र सम्बोधन गर्न प्रभु साहको आग्रह


काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आन्दोलनरत सिनियर अहेब, सिनियर अनमीको माग सम्बोधन गर्न माग गरेका छन् ।

ढिलाई, आलटाल नगरी आन्दोलनरत पक्षसंग वार्ता, सम्बाद गरी यथासिघ्र माग सम्बोधन गर्न उनले आग्रह गरेका हुन् ।

सिंहदरबारमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष साहले मधेस प्रदेशको राजधानी जनकपुरमा आन्दोलनरत सिनियर अहेब, सिनियर अनमीको माग यथासिघ्र सम्बोधन गरी काम गर्ने वातावरण बनाउन माग गरेका हुन् । 

‘प्रदेश सरकारको कार्यशैली ठिक भएन । कर्मचारीहरु हप्तौदेखि धर्नासहित आन्दोलनमा हुँदा उनीहरुको मागको बारेमा छलफल गरी समाधान गर्नुपर्थ्याे । तर सरकार सुनेर, बुझेर पनि सुतेजस्तो गर्छ । यो ठिक होइन । आन्दोलनरत ती सिनियर अहेब, सिनियर अनमीको कुनै नयाँ माग होइन । पुरानै माग रहेको छ, जुन उनीहरुले पाउनुपर्छ । उनीहरुको हक अधिकारकै कुरा हो । सरकारले यथासिघ्र वार्ता, छलफल गरेर समाधान गर्नुपर्छ । काम गर्ने वातावरण बनाउनुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।

सरकार उनीहरुको माग सम्बोधनमा ढिलाई गरेकाले सर्वसधारणको सेवासमेत प्रभावित भएको छ । सरकारले यी सबै कुरा बुझेर छिटै आन्दोलरत पक्षसंग वार्ता, संवाद गरेर अगाडि बढ्नुपर्ने सुझाव साहको रहेको छ ।

मधेस प्रदेशको आठ वटै जिल्लाका सिनियर अहेब, सिनियर अनमीहरु संघर्ष समिति गठन गरी विगत दुई सातादेखि आन्दोलनमा छन् । विगतदेखि पाउँदै आइरहेको २ तह स्तरवृद्धि पाउनुपर्ने माग उनीहरुको छ ।

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बमोजिम विगतदेखि पाउँदै आएको सो सेवा प्रदेश सरकार तथा गठित सुझाव समिति गम्भीर नदेखिएकाले आफूहरुले संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएको सिनियर अहेब, सिनियर अनमीहरुको भनाई रहेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ