- असार ०७, २०८०
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
बुधबार सामाजिक सञ्जालमा छाएको उक्त भिडिओमा सिंहसँगै अन्य केही व्यक्ति पनि नाचिरहेको छन् । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।
पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
भिडिओ सार्वजनिक भएपछि सिंहलाई बोलाइएको उनको भनाइ छ । सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।
बन्दुक होइन, खेलौना : डा बबीसिंह यादव
हिजोदेखि सामाजिक सञ्जालमा भाइरल बनाइएको एक भिडियोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाई बहिनीहरुको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरु सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु । मेरो मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एक छिन भाइबहिनी र परिवारका सदस्यहरुसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई कुनै ‘यूट्युब पत्रकार’ले सन्दर्भ र अनुमति बिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्नु पत्रकारिताको अपमान मात्र होइन, प्रेस आचारसंहिताको उल्लङ्घन पनि हो, जसको म घोर भत्र्सना गर्दछु ।
साथै, वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार के पुरुषहरुको मात्रै हो ?
महिलाले एक छिन नृत्य गर्दा वा रमाइलो गर्दा आकाश नै खसेको जस्तो सोच्ने पितृसत्तात्मक मानसिकताप्रति म गहिरो खेद प्रकट गर्दछु । धन्यवाद !
डा. बबीसिंह यादव
बोदेबरसाइन नगरपालिका,
जिल्ला– सप्तरी
टिप्पणीहरू: