शनिबार, ०६ वैशाख २०८२

प्रधानमन्त्री ओलीले गरे भरतपुरकाे ६ लेन सडकको उद्घाटन


चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व-पश्चिम राजमार्गको भरतपुर महानगरपालिकामा पर्ने ६ लेन सडकखण्डको उद्घाटन गरेका छन् ।

भरतपुर महानगर हुँदै जाने गोन्द्राङ-पुल्चोक ६ लेनको सडकको प्रधानमन्त्रीले शुक्रबार उद्घाटन गरेका हुन् । 

उद्घाटनमा प्रधानमन्त्री ओलीसहित उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सहभागी थिए ।

नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको यो सडक निर्माणका लागि २०७७ साल असोज २६ गते इण्डो सगुन जेभीसँग सम्झौता गरिएको थियो । सडकको सोही वर्ष माघ १७ गते तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए ।

सडक रु एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इ कृष्ण आचार्यले जानकारी दिए ।

छ दशमलव ०८ किलोमिटर सडक ५० मिटर चौडा रहेको छ भने सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्टलाइट जडान र बिजुली भूमिगत गरिएको छ ।

चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुँगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा जानेगरी ड्रेन तयार गरिएको आचार्यले जानकारी दिए । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ