शुक्रबार, २९ चैत २०८१

प्रतिपक्ष सांसदले भने- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्‍याे


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले जङ्गली जनावरको आक्रमण, सडक दुर्घटना, आगलागी, भष्ट्राचारलगायतका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरे । सांसद असिम शाहले सरकार बनेको लामो समय भइसक्दा पनि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नभएकाे भन्दै भ्रष्टाचारका विभिन्न काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको माग गरे ।

सार्वजनिक पद धारण गरेकाे व्यक्तिले ६० दिन भित्र आफ्नाे सम्पत्ति विवरणा सार्वजनिक गर्नु पर्ने भए पनि केपी शर्मा ओलीकाे पालामा मन्त्री भएका कुनै पनि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक गरिएकाे छैन ।

 सांसद अनिशा नेपालीले आन्दोलनरत स्वर्गद्वारी गुठीका मोही किसानको जायज माग सम्बोधन गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद अस्माकुमारी चौधरीले पनि स्वर्गद्वारी गुठी पीडित किसान काठमाडौँ र जिल्लामा समेत आन्दोलन गरिरहेकाले उनीहरुका माग सुनुवाइ हुनुपर्ने धारणा राख्नुभयो ।

सांसद अम्बिका बस्नेतले काठमाडौैँ उपत्यकामा बालबालिका हराउने र अपहरणमा पर्ने घटना सार्वजनिक हुन थालेकोप्रति चिन्ता व्यक्त गरिन् । सांसद अशोककुमार चौधरीले मुलुकलाई कम्लरी मुक्त घोषणा गरिए पनि अझै यो कुप्रथालाई राज्य तहबाटै संरक्षण भइरहेको आरोप लगाए।

सांसद ईश्वरी घर्तीमगरले पाठेघर र स्तन क्यान्सरको परीक्षणलाई निःशुल्क गरिनुपर्ने माग गर्नुभयो । सांसद ईश्वरीदेवी न्यौपानेले कैलाली जिल्लाका विभिन्न क्षेत्रमा डुबानको समस्या रहेकाले कर्णालीलगायत नदीमा तटबन्धको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद उर्मिला माझीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मौलिक हकका रुपमा राखिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । वीर अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप बढेको विषय उहाँले उठाउनुभयो ।

सांसद ऋषिकेश पोखरेलले हिउँदेबालीका लागि मल, बीउ र सिँचाइको अभाव भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराए । 

सांसद कालुराम राईले गर्मीयाममा सर्पदंशका घटना बढ्ने गरेको तर सर्पदंशको उपचारका लागि पर्याप्त अस्पताल नरहेको विषय उठाए । सांसद गणेश पराजुलीले गैरआवासीय नेपालीलाई नागरिकता दिएको विषयमा उनीहरुलाई नेपालमा लगानी गर्नका लागि वातावरण बनाएर त्यसको अधिकतम लाभ लिनसक्नुपर्ने बताए ।

सांसद गोकुलप्रसाद बाँस्कोटाले बनेपा–धुलिखेल सडक निर्माणमा ढिलाइ भएकोप्रति संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद छिरिङल्हामु लामा (तामाङ) ले केही समयअघि काठमाडौँको ठमेलमा प्रहरीमाथि भएको आक्रमणको गम्भीर छानबिनको माग गर्नुभयो । सांसद जावेदा खातुन जागाले मुस्लिम समुदाय राज्यबाट उपेक्षित पारिएको बताउनुभयो । शिक्षा मन्त्रालयले छात्रवृत्ति कार्यक्रममा मुस्मिललाई विभेद गरेको उनको भनाइ छ ।

सांसद जुलीकुमारी महतो (महासेठ) रूख कटान, जग्गा अधिग्रहण, निर्माण सामग्री व्यवस्थापनलगायतमा ढिलाइ हुँदा विकास निर्माण प्रभावित भएको बताइन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ