शनिबार, ०६ वैशाख २०८२

कुलमान घिसिङलाई बर्खास्त गरेका ओली उपकुलपतिको राजीनामा स्वीकृत गर्न हच्किए


फाइल तस्विर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत गर्न सकेका छैनन् ।

उपकुलपति बरालले चैत १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामापत्र पठाएका थिए । आजसम्म उनको राजीनामा स्वीकृत भएको छैन । कुलमानलाई हटाउदा सडकमा चर्को विरोध भएकाले उपकुलपति बरालको राजीनामा स्वीकृत गर्न आँट गरेका छैनन् ।

उपकुलपति बरालले ‘आफ्नो स्वास्थ्य अवस्थाका कारण’ राजीनामा दिएको बताएपनि प्रधानमन्त्रीकै दवावमा राजीनामा दिन वाध्य पारिएको विश्वविद्यालयका एक प्राध्यापकले जानकारी दिए । १० फागुन २०८० मा तत्कालीन प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराललाई उपकुलपतिमा नियुक्त गरेका थिए । 

पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति बनेका बराललाई विद्यार्थी संगठनहरूको दबाबका कारण काम गर्न समस्या भएको थियो । पछिल्लोपटक करार शिक्षक–कर्मचारीलाई स्थायी र आंशिकलाई करार बनाउन प्रधानमन्त्री ओलीबाट दबाब आएपछि बराल दिक्क भएको त्रिविका प्राध्यापकहरूको भनाइ छ ।

त्यसो त बजेट तथा कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले उपकुलपतिलाई असहयोग गरेर दबाबमा राख्न खोजेको प्राध्यापकहरूको आरोप छ । गत साउन १५ गते सिनेट बैठकबाट त्रिविको नीति तथा कार्यक्रम र बजेट सँगसँगै ल्याउने परम्परालाई प्रधानमन्त्री ओलीले रोकेका थिए । 



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ