बिहिबार, २२ माघ २०८२

ओली-नेपाल भेट: माधवले गरे चुनावी सहकार्यको प्रस्ताव अस्वीकार


काठमाडौँ। झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चुनावी प्रचार अभियान तीव्र पारेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दबाबमा छन्।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर चुनावी सहकार्यका लागि प्रस्ताव गरेका ओलीले सहसंयोजक माधवकुमार नेपालसँग पनि भेटेका छन्।

ओलीले चुनावी सहकार्यको प्रस्ताव राखे पनि प्रचण्ड–नेपाल ओलीको प्रस्तावप्रति सकारात्मक छैनन्। एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका ओली आफैँ चुनावमा पराजित हुने खतरा देखेपछि ओली सहकार्यका लागि नेताहरूकाे घर धाउन थालेका हुन्।

देउवा पाखा लागेपछि देखिएको संकट

आलोपालो प्रधानमन्त्री हुने सहमतिसहित डेढ वर्षअघि नेपाली कांग्रेसको प्रस्तावमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओली देउवासँग लामै सहकार्यको योजनामा थिए। तर, विशेष महाधिवेशनमार्फत कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भएपछि कांग्रेस-एमालेको सहकार्य टुटेको थियो।

एमाले–कांग्रेसकाे सहकार्यलाई अनुचित भन्दै आएका गगनसँग ओलीले सहकार्यको प्रस्ताव गर्ने हिम्मत गरेका छैनन्। ‘चुनावमा होस् या सरकार गठनमा कांग्रेस फेरि एमालेसँग मिलेर गल्ती दोहोर्याउँदैन’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने।

माहोल उल्टिने चिन्ता

नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक नेपाल, एमाले महासचिव शंकर पोखरेललगायका सबै नेताले यसपालीको चुनावमा आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन्। जसरी पनि जित्नैपर्ने दबाबमा रहेका यी नेताहरुले चुनाव जित्नकै लागि सहकार्यको प्रस्ताव गरेका हुन् तर, गठबन्धन गर्दा माहोल उल्टिने हो कि भन्ने अर्को त्रास छ।

‘यसै पनि पुराना पार्टीहरुप्रति आम सर्वसाधारण सकारात्मक छैनन्, यस्तो अवस्थामा गठबन्धन गर्दा आम नागरिक थप रुष्ट हुने खतरा पनि छ’, नेपाली कम्युनिष्ट पार्टीका नेता भन्छन्, ‘आफ्नै हैसियत थाहा पाउनका लागि पनि एक्लाएक्लै चुनावमा जानुपर्ने बाध्यता छ।

गठबन्धनले जिताउने ग्यरेन्टी छैन

अघिल्लो निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्र गठबन्धन गरेर जाँदा माओवादीले ९ सिट गुमाएको थियो। नेतृत्व तहमा भएको गठबन्धन तल्लो तहका कार्यकर्ताले नमानेपछि गठबन्धनविपरीत नतिजा आएकाले पनि यसपाली सबै पार्टीका नेताहरु गठबन्धनप्रति त्रसित छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ