शुक्रबार, ०५ मंसिर २०८२

सरकारसँग ओलीकाे माग- दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियाेस्


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईंलाई मध्यरातमा पक्राउ गर्ने काम सरकारले गरेको भन्दै असन्तुष्टि जनाएका छन् । 

बुधबार नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा 'स्थानीय तहका जनप्रतिनिधिको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै ओलीले प्रसाईंलाई तुरुन्त छाड्न सरकारसँग आग्रह गरे । 

‘अपराध गरे पो थुन्ने हो । भएको भिडियो बाहिर ल्याउनु अपराध हो ?’, ओलीले प्रश्न गरे । सरकारले स्वेच्छाचारी ढङ्गले प्रसाईँलाई पक्राउ गरिएको बताए । 

‘राति राति तमासा गरिरहेको छ यो सरकारले । यहाँ बोल्न पनि नपाइने भयो । निर्वाचन भन्छ सरकार । बारामा हाम्रो युवा भेला थियो । भेलामा जेनजी भन्दै केही विद्वानहरूले ढुंगामुढा गरे बिथोले’, ओलीले भने, ‘सिमरा एयरपोर्ट बन्द भयो । नेताहरूलाई जान रोकियो ।’ उनले सभा गर्नै नदिनेले चुनाव कसरी गर्छ भन्दै प्रश्न गरे । अध्यक्ष ओलीले जेनजीका नाममा हुने आतङ्क रोक्न सरकारलाई आग्रह समेत गरे । 

‘कस्तो चुनाव गर्न चाहनुहुन्छ प्रधानमन्त्री जी ?’, ओलीको प्रश्न छ । उनले नेकपा एमाले देश छाडेर नभाग्ने उल्लेख गर्दै प्रतिवाद गर्ने पनि बताए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ