- मंसिर १०, २०८२
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन आउन २४ दिन बाँकी हुँदा उम्मेदवारहरु आ–आफ्ना चुनावी क्षेत्र केन्द्रित भएका छन्। ‘चुनावमा भोट माग्ने आउने नेता चुनावपछि देखिँदैनन्’, आम जनताको गुनासो छँदैछ तर, पनि फेरि त्यही रित दोहोरिएको छ।
चोक, चौतारामा बसेर जतिसुकै आलोचना गरिएपनि भोट माग्नकै लागि किन नहोस्, आफ्नो गाउँमा नेता आउँदा सर्वसाधारण खुसी नै हुन्छन्। अहिले त्यही भइरहेको छ।
१६५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरु घरदैलो गरिरहँदा सबैभन्दा धेरै चहलपहल भने झापा क्षेत्र नम्बर ५ मा देखिएको छ। जहाँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलगायत उम्मेदवारका रुपमा छन्।
नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टीलगायत अन्य स्वतन्त्रले समेत उम्मेदवारी दिए पनि धेरै चर्चा भने ओली र बालेनकै छ। उनीहरुको यति धेरै चर्चा हुनुको कारण झापा-५ ओलीका लागि घरेलु मैदान सरह हो भने बालेनका लागि नयाँ निर्वाचन क्षेत्र। अर्को कारण दुवै नेतालाई पार्टीले भावी प्रधानमन्त्रीका रुपमा दाबी गर्दै आएको छ। पार्टीले दाबी गर्दैमा प्रधानमन्त्री हुन्छन् नै भन्ने छैन तर, निर्वाचनमा पराजित हुनेलाई फेरि स्थापित हुन उति सहज हुने देखिँदैन।
काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेनले ओलीलाई पराजित गर्ने दाबीसहित झापा-५ रोजेका थिए भने ओलीका लागि विगतदेखि नै निर्वाचन लड्दै आएको क्षेत्र हो।
अहिले घरदैलो अभियानमा जुटेका दुवै उम्मेदवारले गच्छेअनुसारको प्रचार सुरु गरेका छन्। ‘मैले जितेँ भने घरघरमा ग्यास पाइप ल्याउँछु’ भन्ने खालका ओलीले पुरानै नारा लगाउन थालेका छन्।
जहाँ मान्छेको भिड छ, त्यहीँ पुग्ने र आफ्ना कुरा राख्ने क्रममा ओलीले विगतमा भएका विकास निर्माण आफ्नै पहलमा सम्पन्न भएको दाबी गर्दै आएका छन्। बच्चादेखि बुढाहरुसँग बसेर फोटोका लागि पोज दिँदै ओलीले आफूलाई देश बनाउने कित्तामा राखेका छन्।
आफ्नो चुनाव क्षेत्रको मतदाताका बीचमा पुगेका बालेनने भने अहिलेसम्म कुनै बाचा गरेका छैनन्, न कुनै आश्वासन। उनी केवल सुन्छन् मात्रै।
उमेरकै कुरा गर्ने हो भने ओली र बालेन हजुरबा र नाती पुस्ताका हुन्। ओलीले बालेनलाई देश जलाउनेहरुको नेतृत्व गरेको आरोप लगाउने गरेका छन् भने बालेनले ओलीहरुकै कारण देश बन्धक बनेको आरोप लगाउने गरेका छन्।
टिप्पणीहरू: