- असार ०७, २०८०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा दिएको भड्काउपूर्ण अभिव्यक्ति सम्बन्धमा जवाफदेहिता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजतन्त्र समर्थकहरूले गणतन्त्र दिवसका दिन जेठ १५ गते गर्न लागेको विरोध प्रदर्शनलाई लक्षित गरी आइतवार जेठ ११ गते नेकपा एमालेले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्’ भनेका थिए ।
कुनै पनि व्यक्ति, संस्था र दलले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्नु, आफ्ना माग र अभिव्यक्ति राख्न पाउनु संविधानप्रदत्त अधिकार हो । सरकारको नेतृत्व गरी प्रधानमन्त्री जस्तो ओहोदामा रहेका व्यक्तिबाट नै अरू दलले आयोजना गरेका कार्यक्रममा हस्तक्षेप गर्न भन्दै आफूनिकट दलका कार्यकर्तालाई उक्साउने र भड्काउने अभिव्यक्ति दिनु पदीय मर्यादाविपरीत रहेको जवाफदेहिता निगरानी समितिको धारणा छ ।
विरोधलाई शान्तिपूर्ण बनाउन, संयमित रहन, र कुनै पनि किसिमको हिंसा भड्कन नदिन सार्वजनिक आह्वान गर्नुपर्ने सरकारप्रमुखबाटै निषेधका लागि दुष्प्रेरित गर्दै उत्तेजना र मुठभेड निम्त्याउने अभिव्यक्ति दिनु चिन्ता र खेदजनक भएको समितिको भनाई छ । ‘निश्चित क्षेत्र कब्जामा लिन आफ्ना कार्यकर्तालाई उत्तेजित पार्नु संविधानको ठाडो उल्लंघन मात्र होइन, मानवअधिकारको न्यूनतम मूल्यमान्यता विपरीत पनि हो ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।
समितिले प्रधानमन्त्रीलाई आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी नबिर्सन आग्रह गर्दै विरोध कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन निगरानी समिति आयोजक पक्षलाई अपील गरेको छ ।
टिप्पणीहरू: