सोमबार, २१ वैशाख २०८३

पोखरामा पनि अतिक्रमित संरचना हटाउन सूचना जारी


कास्की । पर्यटकीय राजधानी पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्याइएको थियो । 

विसं २०३२ मा पृथ्वीचोकमा २०५ रोपनी जग्गामा बसपार्क बनाउने योजना अघि सारिएको थियो । पूर्वमा सेती नदी, पश्चिममा साबिकको ट्राफिक भवन, दक्षिणमा एयरपोर्ट र उत्तरमा साल्ट ट्रेडिङको भित्रको चार किल्लाभित्र बसपार्कका लागि छुट्याएर राजत्रपत्रमा प्रकाशित गरिएको थियो । 

बसपार्कका लागि जमिन छुट्याएको ५० वर्षसम्म काम नहुँदा २०५ रोपनी जमिन अहिले आएर ४७ रोपनीमा खुम्चिएको छ । बसपार्कको जग्गामा सुकुमवासी छन् । पोखरा महानगरपालिकाले गरेको अध्ययनअनुसार बसपार्कको जमिनमा ४०० बढी सुकुमवासी परिवार बस्दै आएका छन् । लामो समयसम्म बसपार्क नबन्दा अहिले सडक पेटीबाट नै लामो तथा छोटो दूरीका बसहरु आफ्नो गन्तव्यमा छुट्ने गरेका छन् । यसबाट पोखराको पृथ्वीचोक क्षेत्रमा सधैँ यातायात अस्तव्यस्त हुने र लामो जामको समस्या निम्तिएको छ । 

पछिल्लो समय पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि ३५ दिनको सूचना जारी गरेको छ । यही वैशाख ३ गते कार्यपालिकाको बैठक बसी महानगरपालिकाले अतिक्रमित संरचना हटाउन सूचना गरेको हो । 

संघीय राजधानी काठमाडौँमा केही दिनयता अतिक्रमित जमिन खाली गराउनेक्रम जारी  छ । पोखरामा रहेका पनि सुकुमवासीले  व्यवस्थापन विना आफूहरुलाई हटाउन नहुने उनीहरुको माग छ ।  

बसपार्क भित्रको कृष्ण टोल आमा समूहकी अध्यक्षसमेत रहेकी स्थानीय रुपा केसीले आफूहरु अव्यवस्थित भएर बस्न चाहेको सुनाइन् ।  

उचित व्यवस्थापन गरेर मात्र बसपार्क बनाउन विगतदेखि नै भन्दै आएको उनी बताउछिन् । “सुकुमवासीहरु कहिल्यै पनि बसपार्कको विरोधी होइनौँ । हाम्रो उचित व्यवस्थापन भएको खण्डमा हामी अहिले बसिरहेको ठाउँ छोड्न तयार छौँ, सरकारले गर्ने विकासमा सहयोग गर्छौं ।” उनले भनिन् ।

भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले बसपार्कका सुकुमवासीलाई सकभर अहिले बसोबास गरिरहेको वडा नं ९ भित्र वा नजिकको वडामा पहिला व्यवस्थापन गर्नुपर्ने बताउछन् । व्यवस्थापन विना महानगरले बसोबास गरिरहेको स्थान खाली गर्नका लागि सूचना जारी गरेपछि आफूहरु चिन्तित बनेको उनको भनाइ छ । 

उनले भने,“महानगर कार्यपालिकाको निर्णयले भूमिहीन तथा अव्यवस्थित बसोेबासीहरुलाई चिन्तित भइरहेको छ । उपयुक्त वैकल्पिक अवस्था पहिला महानगरले गरोस् र बल्ल २०५ रोपनी जमिनभित्र नै बसपार्क निर्माण होस् ।” 

मजदुर नेता रुद्र गौतमले बसपार्कका अतिक्रमित संरचना हटाउने काम थाले सरकारको कदममा आफूहरुको सहयोग रहने बताउनुभयो । बसर्पाकका लागि छुट्याएको २०५ रोपनी जमिनमै बसपार्क बनाउनुपर्ने उनको भनाइ छ ।  । 

उनले भने, “बसपार्कको जग्गा विभिन्न कालखण्डमा पहुँच र शक्तिको दुरुपयोग गरी व्यक्तिगत पहुँचका आधारमा पुर्जा बनाएर घडेरी किनबेच भएको छ । वास्तविक सुकुमवासीलाई विकासको बाधक देख्ने काम गलत छ । पहिला विगतमा छुट्याइएको पूरै जग्गा खाली हुनुपर्दछ, त्यस्तो भएमा हाम्रो सहयोग रहन्छ । ” 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ