आइतबार, २८ असार २०८३

गणेश नेपाली आत्मदाह प्रकरणमा जुटेन सहमति, आज पनि वार्ता हुने


काठमाडौं । गणेश नेपाली आत्मदाह प्रकरणमा आन्दोलनरत पक्ष र सरकारी टोलीबीच अझै सहमति हुन सकेकाे छैन ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पटक पटक वार्ता भए पनि टुंगोमा पुग्न सकेन । आज फेरि वार्ता हुने सम्बन्धित पक्षकाे भनाई छ ।

शनिबार भएकाे वार्तामा सरकार पक्षबाट प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहाल र सचिवालय सदस्य सञ्जीव पाण्डे, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सहभागी थिए ।

सरकारले मृतक परिवारलाई १५ लाख क्षतिपूर्ति दिन तयार भएको छ । पीडित पक्षले संसदीय छानबिन माग गरेकाे छ भने सरकारले प्रशासनिक छानबिन गर्ने प्रस्ताव छ । मृतकको पत्नीलाई रोजगारी र छोराछोरीलाई नि:शूल्क शिक्षा दिलाउने विषयमा काठमाडौं महानगरपालिकाले सहमति जनाएकाे छ ।

पीडित पक्षले  नगर प्रहरी तथा ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यान मुद्दा चलाउनुपर्ने, गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहीद घोषणा गर्नुपर्ने, घटनास्थललाई ‘शहीद गणेश नेपाली चोक’ नामकरण गर्नुपर्ने जस्ता माग राखेपछि सहमति नजुटेकाे हाे । 

पीडित पक्षले महानगरको कार्यपालिका बैठकले निर्णय गर्ने वा नगर्ने भन्ने अन्योल रहेकाले नेपाल सरकारले औपचारिक रूपमा जिम्मेवारी नलिएसम्म कुनै सहमति नहुने अडान राखेका छन् । वार्ता समितिमा रहेका पठाओ राइडर प्रतिनिधि नवराज न्यौपानेले वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीबाट दबाब र धम्कीपूर्ण व्यवहार भएको आरोप लगाए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ