शनिबार, ०६ वैशाख २०८२

विश्वकप एसिया छनोटः नेपालद्वारा हङ्कङ पराजित


काठमाडौँ। आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत नेपालले तेस्रो जित निकालेको छ ।

आजको खेलमा नेपालले हङ्कङलाई नौ विकेटले हराउँदै जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो । 

हङ्कङले जितका लागि दिएको एक सय १६ रनको लक्ष्य नेपालले १२ दशमलव तीन ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट पनि अविजित रहँदै ३९ रन जोडे ।  नेपालका लागि नीरज यादवले २३ रनको योगदान दिए । नेपालले अतिरिक्त नौ रन प्राप्त गरेको छ । 

हङ्कङका लागि शयन पुरीले एक विकेट हात पारे । तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले ४६ दशमलव दुई ओभरमा अलआउट हुँदै एक सय १५ रन बनाएको हो ।

हङ्कङका लागि शिव माथुरले अर्धशतकीय पारी खेले । उनले एक सय १६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यस्तै, आर्या पन्जवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रनको योगदान दिँदा अन्य कुनै खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

नेपालका लागि युवराज खत्रीले सर्वाधिक चार विकेट लिए । विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट हात पारेका हुन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ